बढ्दो सवारी दुर्घटनाले दाङवासी चिन्तित



दाङ : गत पुस ६ गते तुलसीपुर उपमहानगरपालिकाको–३ राम्रीमा भएको बस दुर्घटनामा विद्यार्थी, शिक्षक, चालक गरी २३ जनाको मृत्यु भयो । त्यसैगरी गत मङ्सिर २८ गते दुलही लिएर जाँदै गरेको बिहेको गाडी लमही नगरपालिकाको रिहार नजिकै दुर्घटनामा परी दुलाहाका बुबा आमासहित ६ जनाको ज्यान गयो । 

यी दुवै दुर्घटनाले दाङवासीसहित स्तब्ध बनायो । त्यस्तै मृतकका आफन्त तथा घरपरिवारलाई जीवनभरि नै भुल्नै नसक्ने पीडा दियो । ती दुवै घटनाको थप अनुसन्धान जारी छ । 

 

प्रारम्भिक अनुसन्धानले दुवै घटनामा चालकको कमजोरी रहेको दाङ ट्राफिक प्रहरीले जनाएको छ । त्यसैले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अहिले यहाँका प्रहरी, प्रशासन, सरकारी निकाय, व्यवसायी, नागरिक समाज, दलका प्रतिनिधि तथा पत्रकारसमेत विभिन्न अभियानमा जुट्न थालेका छन् । अभियानमा सहभागी सबैले बढ्दो सवारी दुर्घटनाप्रति चिन्ता र चासो व्यक्त गरेका छन् । 

उनीहरुले चालकलाई लक्षित गरी बाटोमा नै सवारी साधनबाट ओरालेर स्वास्थ्य परीक्षण गराएका छन् । त्यस्तै सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा सचेतनामूलक कार्यक्रम पनि गर्दैआएका छन् । तर जिल्लामा दिनहुँ जसो सवारी दुर्घटना भइरहेका छन् । 

शनिबार तुलसीपुरबाट गोल्टाकुरीतर्फ जाँदै गरेको बस तुलसीपुर उपमहानगरपालिका–१२ को हरीपौरीमा दुर्घटना हुँदा २५ जना घाइते भए । घाइतेमध्ये ७ जनालाई थप उपचारको लागि कोहलपुर लगिएको छ भने घाइने अन्य राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारपछि घर फर्केका छन् ।

 

त्यसैगरी शनिबार नै जिल्लाका अन्य दुई स्थानमा पनि मोटरसाइकल दुर्घटना भएका छन् । सो दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । 

 

दाङमा चालू आर्थिक वर्षको हालसम्म अर्थात माघ ५ गते सम्ममा १ सय ३४ वटा सवारी दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मदन कुँवरले ती दुर्घटनामा परी १ सय १० जना गम्भीर घाइते भएको जानकारी दिए ।

 

सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल ६९, बस १८, ट्र्याक्टर १५, जिप तथा कार १४ छन् । त्यस्तै टेम्पो सात, ट्रक छ र टिपर दुई छन् । गत वर्ष सो अवधिमा ९५ वटा सवारी दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको थियो । ट्राफिक प्रहरीले चालु आवको हालसम्मको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १६ हजार ७ सय ८१ जना चालकलाई कारवाही गरेको छ । 

 

यस अवधिमा मोटरसाइकलका ६ हजार ५ सय ५५, बसका २ हजार ६, जिपकारका २ हजार ५२, ट्याक्टर १ हजार ९ सय ९४, टेम्पो ६ सय ८१, ट्रक तथा ट्रिपरका ३ हजार ४ सय ९३ का चालकलाई कारबाही गरिएको थियो । कारबाहीबाट एक करोड दुई लाख ३३ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको टाफिक प्रहरी निरीक्षक कुँवरले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्