अन्नपूर्ण पदमार्गमा आउने पर्यटक बढ्दै



लमजुङ : नेपाल भ्रमण वर्ष २०२० मा चक्रीय अन्नपूर्ण पदमार्गमा आउने पर्यटक विस्तारै बढ्न थालेका छन् । चिसोका कारण मुश्किलले पाँच÷छ जना आउने गरेको यस पदमार्गमा गर्मी शुरुपछि पर्यटक बढेका हुन् ।

केही दिनबाट पर्यटक बढ्न थाले पनि यस पदमार्गका होटल व्यवसायी भने खुशी छैनन् । गत वर्ष यही मौसममा यो भन्दा दोब्बर पर्यटक आएको र यस वर्ष कोरोना भाइरसले पर्यटक कम आउँदा व्यवसाय विगतका वर्षमा झैँ हुन नसकेको होटल व्यवसायी पञ्चबहादुर गुरुङले बताए ।

यतिबेला विस्तारै आयआर्जन बढ्न थालेको छ । केही समयअघि सम्म ५÷१० हजार रुपैयाँ कमाउन नसकेका होटल व्यवसायीले यतिबेला ४० हजारदेखि ६० हजारसम्म आम्दानी गरिरहेको होटेल व्यवसायीको भनाइ थियो ।

त्यस्तै मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले भने, “अब पर्यटकको मौसम शुरु भयो, पर्यटक बढ्न थाले, विगतका वर्ष जसरी अहिले व्यापार नभए पनि चिसोको मौसमभन्दा राम्रो हुन थालेको छ ।” चिसोले बन्द भएका यहाँका बन्द होटल विस्तारै सञ्चालन भइरहेको उनको भनाइ थियो ।

यतिबेला पदमार्गमा दैनिक कम्तीमा ५० जनाभन्दा बढी आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका इञ्चार्ज सोमी गुरुङले बताए । उनले भने, “यो वर्षकै सबैभन्दा धेरै बुधबार ५९ पर्यटक आए ।

भ्रमण वर्षमा पदमार्गमा आउने पर्यटक वृद्धि हुने अपेक्षा गरेका छौँ”, विस्तारै पर्यटक बढ्न थालेको उनको भनाइ थियो । अहिले पर्यटक सबैभन्दा धेरै जर्मनीबाट आएको एक्याप धारापानीले जनाएको छ ।

एक्याप धारापानीका अनुसार सन् २०१९ मा २७ हजारभन्दा बढी पर्यटक यस पदमार्गमा आएका थिए । अन्नपूर्ण पदमार्ग लमजुङ, मनाङ, कास्की, मुस्ताङ, र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्