ओलीकै सामु अष्टलक्ष्मी शाक्यले भनिन्, ‘पार्टीका नेता कार्यकर्तामा सामन्ती संस्कार देखियो ’



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीकी बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले नेकपाका नेता तथा कार्यकर्तामा सामन्ती संस्कार हाबी हुँदै गएको बताएकी छन् ।

बिहीबार नेकपाको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले प्रधानमन्त्रीले जन्मदिनमा केक काटेर खाएकोप्रति असन्तुष्टि जनाएकी हुन् ।

कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली समेत उपस्थित थिए । अध्यक्ष ओलीकै सामुन्ने उनले प्रश्न गर्दै भनिन् ‘नेपालको नक्साको केक बनाएर चिरा पार्ने संस्कार कहाँबाट आयो ?’

जन्मदिनमा केक काटेर खाने संस्कार गलत भएको भन्दै उनले यसो नगर्न नेकपा कार्यकर्तालाई आग्रह गरेकी छन् । केक काट्ने संस्कृति नेपालीको नभएकोले गलत संस्कृतिको अवलम्नव गर्न नहुनेबारे सचेत हुन उनले आग्रह गरिन् ।

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनको अवसरमा नेपाली नक्शा आकारको केक काटेका थिए । शाक्यले उक्त घटनालाई लक्षित गर्दै कम्युनिस्ट पार्टीका नेता कार्यकतामा सामन्ती संस्कार देखिनु चिन्ताजनक भएको बताइन् ।

नेतृ शाक्यले निवर्तमान सुचना तथा संचार मन्त्री गोकुल बास्कोटाको लेनदेन प्रकरण विषयलाई पनि कोट्याइन् । उनले सत्तामा बसेर पार्टीका नेताहरु लेनदेनमा संलग्न हुनु गलत भएको बताइन् । उनले सचिवालय सदस्य र पार्टीका मूल नेतृत्वले कार्यकर्तालाई उत्साहित बनाउने अभिव्यक्ति दिन आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्