श्रम स्वीकृति गराउनेको संख्या बढ्दै



जनकपुरधाम : जनकपुरधामस्थित श्रम तथा रोजगार कार्यालयबाट चालु आर्थिक वर्ष २०७६-७७ को साउनदेखि फागुन महिनाको १४ गतेसम्ममा १० हजार २ सय ३२ जनाले श्रम स्वीकृति गराएका छन् ।

२०७५ पुस १५ गते स्थापना भएको सो कार्यालयबाट प्रारम्भमा केही समस्या आएपनि अहिले सहज र सुलभ रुपमा सेवाग्राहीहरु श्रमस्वीकृति लिई घर फर्किने गरेको श्रम तथा रोजगार कार्यालय जनकपुरधामका प्रमुख सुबोध कुमार महतोले जानकारी दिए ।

प्रदेशमै श्रम तथा रोजगार कार्यालयको स्थापना भएपछि सेवाग्राहीहरुलाई सहज भएको उनले बताए । कार्यालय प्रमुख महतोले सुरुमा विचौलियाहरुको बढी बिगबिगी रहेपनि अहिले सबैलाई नियन्त्रणमा ल्याइएको जिकिर गरे । श्रम स्वीकृति लिनेहरुमा सबभन्दा बढी धनुषाकै व्यक्तिहरु रहेको समेत उनले बताए ।

धनुषाबाट ६० देखि ७० प्रतिशत व्यक्ति श्रम स्वीकृति लिएका छन् भने अन्य जिल्लाबाट थोरै संख्यामा रहेको उनले बताए । उनले बारा र पर्साबाट कहिलेकाही मात्रै सेवाग्राहीहरु आउने गरेको जानकारी दिए । प्रमुख महतोले दैनिक करिव १ सय ५० जनासम्मलाई यस कार्यालयबाट श्रम स्वीकृति दिने गरिएको बताए ।

उनले भने,‘सुरुमा टोकन सिस्टम नहुँदा सेवाग्राही र कर्मचारीलाई पनि व्यवस्थापन गर्न समस्या भोग्नु परेको थियो । अहिले टोकन सिस्टम हुँदा सहज भएको छ ।’ कार्यालय प्रमुख महतोले अब कागजातहरु पुरा रहेमा दुई घण्टा भित्र श्रम स्वीकृति दिइने जिकिर गरेका छन् ।

त्यस्तै, श्रम तथा रोजगार कार्यालयबाट गत आर्थिक बर्षको पुसदेखि २०७६ बैशाख सम्ममा १३ हजार २ सय २३ जनाले श्रम स्वीकृति लिएका छन् । गत पुस १५ गते स्थापना भएको सो कार्यालयबाट पुसमा १ हजार ४ सय ४१ जना, माघमा ३ हजार १ सय १२ जना, फागुनमा ३ हजार ७ जना, चैतमा ३ हजार ८ सय १३ जना र ०७६ बैशाखमा २ हजार ७ सय ८७ जनाले श्रमस्वीकृति लिएको कार्यालय प्रमुख महतोले जानकारी गराएका छन् ।

यस कार्यालयमा शाखा अधिकृत २ जना, नायव सुब्बा ३ जना, कम्प्यूटर अपरेटर १ जना,भाषा अनुवादक १ जना र कार्यालय सहयोगी ३ जना गरि जम्मा १० जना कर्मचारी कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्