दिल्ली हिंसाः दङ्गामा मारिनेको सङ्ख्या ३४ पुग्यो



काठमाडौं : भारतको राजधानी दिल्लीमा भएको हिंसात्मक दङ्गामा मारिनेको सङ्ख्या ३४ पुगेको छ। आइतबारबाट सुरु भएको हिंसात्मक दङ्गामा मृत्यु हुनेको संख्या ३४ पुगेको हो ।

दिल्लीमा जारी हिंसामा मारिने सबैलाई गोली लागेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार दिल्लीका कतिपय इलाकामा अझै पनि हिंसात्मक गतिविधि भइरहेको र हिंस्रक जत्था घुमिरहेका छन् । विशेषगरी, उत्तर–पूर्वी क्षेत्रमा छिटपुट हिंसा भएको प्रहरीले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।

दिल्लीमा हिन्दू र मुस्लिम समुदायबीच भएको उक्त दंगा रोक्नको लागि र थप झडप हुन नदिन हजारौँ दङ्गा प्रहरी तथा अर्धसैनिक फौजले गस्ती गरिरहेका छन्।

सुरुमा नागरिकता कानुनका पक्ष र विपक्षमाबीच सुरु भएको झडपले साम्प्रदायिक दङ्गाको रुप लिएको थियो ।

बुधवार हिंसामा निकै कमी आएको भएतापनि राति भने प्रभावित इलाकाहरूमा छिटफुट झडप भएको खबर आएका छन्। दिल्लीका शहरहरु अझै अशान्त नै देखिन्छन् ।

न्यायाधीशको सरुवा

यसैबीच, बिहीबार दिल्ली उच्च अदालतका न्यायाधीश एस मुरलीधरको सरुवा भएको छ ।

उनको सरुवाबारे दुई साता अगाडि नै घोषणा गरिएको भएतापनि दिल्ली हिंसालाई लिएर उनले गरेका तीखा टिप्पणीका कारण उक्त घोषणा कार्यान्वयनलाई तीव्रता दिइएको हुनसक्ने कतिपयको अनुमान छ ।

न्यायाधीश मुरलीधरले धार्मिक दङ्गाको मुद्दामाथि सुनुवाइ गरिरहेका थिए र उनले बुधवार सरकार र प्रहरी दुवैको चर्को निन्दा गरेका थिए।

बुधवार राति नै उनको तत्काल सरुवाको आदेश पठाइएको थियो। सरकारले उक्त सरुवा राजनीतिक रूपमा उत्प्रेरित नभएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्