समृद्धिको शत्रु भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती हो : उपराष्ट्रपति पुन



स्याङ्जा : उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्धिको शत्रु भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती भएको बताएका छन् ।

नेपाल मगर संघ स्याङ्जाको आयोजना र वालिङको व्यवस्थापनमा आज सदरमुकाम वालिङमा आयोजित ३८ औंँ मगर एकता दिवस तथा मगर गुमष्ठा इमको उदघाटन गर्दै उनले समृद्धिको शत्रु भ्रष्टाचार जरैदेखि नफाल्दासम्म देशको समृद्धि हुन नसक्ने स्पष्ट गरे ।

उनले भने,“केन्द्रमा सङ्घीय सरकारले हाम्रा शत्रुका रुपमा रहेका भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती हटाउन लाग्नुपर्छ भने स्थानीय सरकारले जरैबाट फाल्न शुरु गरे मात्रै विकासले फड्को मार्दै जाने छ ।” मगर समुदाय संर्घर्षशील, वीर, इमान्दार र कर्तव्यनिष्ठ समुदाय भएको बताउँदै उनले अब सबैको ध्यान विकास र आर्थिक समृद्धितर्फ हुनुपर्नेमा जोड दिए ।

उनले मातृभाषाको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउँदै मातृभाषा पठनपाठनको व्यवस्था मिलाउन पनि आग्रह गरे । सो अवसरमा नेकपा स्याङ्जा अध्यक्ष सूर्यप्रसाद गैरे, वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाण, मगर संघ स्याङ्जाका अध्यक्ष लोकेन्द्र तरामु मगर र वालिङका अध्यक्ष बिलबहादुर थापालगायतले मगर समुदायको भाषा, संस्कृति र कलाको संरक्षण सबै मगर एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्