धार्मिक सम्पत्तिमाथि भूमाफियाको गिद्धे नजर, सार्वजनिक पोखरीहरुको अस्तित्व सकिदै



जनकपुरधाम : जनकपुरधाममा रहेको सार्वजनिक महत्वको पोखरीको अस्तित्व समाप्त हुने अवस्थामा रहेको छ ।

त्यहाँको परिचय भनेको त्यहाँका मठमन्दिर र कुटीहरु हुन् । धार्मिक शहरलाई ५२ कुट्टी र ७२ कुण्डको नामलेसमेत चिनिन्छ । यति धेरै संख्यामा मठमन्दिर र पोखरी हुनु सामान्य कुरा होइन । यद्यपी, समयक्रमसँगै अधिकांश मठमन्दिर र पोखरीहरु लोप भइसकेका छन् ।

अधिकांश मठमन्दिर र पोखरीहरुको इतिहास अब पानामा मात्रै जिवित रहेको देखिन्छ । जनकपुरधामको महत्वपूर्ण चोक मध्येको एक हो रामानन्द चोक । जहाँ दर्जनौं कुटीहरु छन् । तर अधिकांश कुटी कि त लोप हुने अवस्थामा छ कि त लोप भईसकेका छन् । बाँकी रहेका कुटीहरुमा पनि भूमाफियाहरुको आँखा गडेपछि सो कुटीहरु समेत लोपोन्मुख हुने अवस्थामा रहेका छन् ।

जसको प्रत्यक्ष उदाहरण हो रामानन्द चोकमा अवस्थित रेवासी कुट्टी । भारत सीतामढी जिल्लाको रेवासीबाट जनकपुरधाम आएका साधु अयोध्या दास महाराजले वि.सं. २००४ मा रेवासी कुट्टीको स्थापना गरेका थिए । उनले आफ्नो गाउँठाउँबाट धर्मकर्मका लागि जनकपुरधाम आउने श्रद्धालु भक्तजनहरुलाई सुविधा दिने हिसाबले सो कुट्टीको स्थापना गरेका थिए ।

कुटी स्थापनाको ७३ वर्ष पुगेपछि अवस्था दयनिय बनेको छ । लगभग ८ कट्ठा क्षेत्रफलमा रहेको सो कुट्टीमा कलात्मक मन्दिर छ । मन्दिर कलात्मक भएपनि त्यसको सुन्दरता वरीपरीका शटरहरुले ढाकिएको छ । कुट्टी पुग्नका लागि नगरकै मानिसलाई खोजी गर्नुपर्छ । विगतमा मन्दिरको कुल १० विघा जग्गा थियो ।

विस्तारै ती जग्गाहरु मासिदै गएपछि कुट्टीको जग्गा ८ कट्ठामा मात्रै सीमित भएको छ । सटरहरुबाट मन्दिरले मासिक १ लाख ५० हजार रुपैयाँ भाडा असुल्दै आएको छ । भाडा असुल भएपनि भाडा मन्दिरको पूूजारीको हातमा जाँदैन, नाम नबताउने शर्तमा एक पूजारीले बताए । कुटीमा रहेको मन्दिरमा तीनै पूजारीले नित्यदिन पूजाअर्चना गर्छन् ।

कुट्टीमाथि भूमाफियाको गिद्धे नजर

जनकपुरधामको प्रसिद्ध रामानन्द चोकमा रहेको रेवासी कुट्टीको महन्थ हुन् भारत सीतामढी जिल्लाको रेवासी निवासी परमेश्वर दास । तर उनी जनकपुरधाम वर्षौँदेखि आउनै छाडेका छन् । उनले आफ्नो अनुपस्थितिमा मन्दिर तथा मन्दिरको आम्दानीको रेखदेखका लागि जनकपुरधाम उपमहानगरपालिका वडा नं.१६ का जग्गा कारोबारी अमर पजियालाई जिम्मा लगाए ।

महन्थ परमेश्वर दासको यो निर्णयबाट पुजारीहरु दु : खी छन् तर आफूहरुले गुरुको बिरोध गर्न नसक्ने संस्कारका कारण चुप्प लागेर बसेको उनीहरुले बताए । पजियार उत्तराधिकारी महन्थ भएपछि दिनभर जग्गा खरिदबिक्री सम्बन्धी मोलमोलाई भइरहने मन्दिर भवनको अधिकांस भाग जग्गा कारोबारीको बैठक तथा आराम कक्षको रुपमा प्रयोग भइरहेको स्थानीयहरुको आरोप छ ।

उक्त भागमा एसी जडान गरी ‘लक्जरियस’ कार्यालय बनाइएको छ भने भगवानको मुर्ति राखिएको भाग जीर्ण छ । सडक छेउमा २५ वटा सटर निर्माण गरी भाडा लगाइएको छ । बगैंचा क्षेत्रमा तिनै व्यवसायीहरुले गोदामको रुपमा प्रयोग गरिरहेका छन् । ३ सन्तानका पिता अमर पेशाले जग्गा कारोबारी हुन् । उनी रेवासी कुट्टीका महन्थ परमेश्वर दासका उतराधिकारी हुन् ।

दिनभर जग्गा कारोबारमा व्यस्त रहने अमर महन्थको ‘पदवी’ प्राप्त गर्न कानुनी प्रक्रिया पूरा गरिसकेको स्वयं पजियारले बताए । महन्त परमेश्वर दासलाई ‘संरक्षक’ देखाइएको सबै जग्गाको मालपोत कागजातमा उनले आफ्नो नाम लेखाइसकेका छन् । मन्दिरका एक पुजारीका अनुसार महन्थ दासलाई आर्थिक प्रभाव र दबाबमा पारेर अमर पजियारले जनकपुर छोड्न बाध्य बनाएका छन् ।

श्रोतका अनुसार सिरहा अदालतमा मुद्दा दिएर महन्थको नाउँमा रहेको जग्गा आफ्नो नाउँमा चढाई समेत सकिएको छ । ५२ वर्षदेखि मन्दिरमा निरन्तर पूजापाठ गर्दै आएको आफु आज पनि सेवककै रुपमा कायम रहेको उल्लेख गर्दै उनले हिजो आएका व्यक्ति महन्थको उत्तराधिकारी भएको दाबी गर्दै श्रीसम्पत्ति चलाउन थालेपछि दु : ख लागेको बताए ।

कहिलेकही मात्र मन्दिर आउने अमरले मन्दिरभित्रै एसीसहितको भीआईपी कोठा प्रयोग गरिरहेको उनले बताए । यता, पजियार भने आफु महन्थको उतराधिकारी बनिसकेको स्वीकार गरे । उनले आफू कानून भित्रै रहेर उत्तराधिकारी महन्थ बनेको दावी गरे । मन्दिरको अधिनमा कपिलेश्वरमा रहेको सात बिगहा जमिन आफु जन्मिनु अगावै बिक्री भइसकेको दाबी गर्ने उनले भंगाहामा रहेको अर्को ५ बिगाहा जग्गा पनि लुकाउन खोजेका छन् ।

यो घटना त एउटा प्रतिनिधिपात्र मात्र हो । जनकपुरधामका यस्ता धेरै ऐतिहासिक मठमन्दिर एवं कुट्टीहरु अहिले पुर्ण रुपमा लोप भईसकेका छन् । जसमध्ये जनक सरोवर, अमृत कुण्ड, गोपाल सर, पयस्विनी सर र वलदेव सर माफियाहरुको गिद्धे नजर परेपछि पूर्ण रुपले विलुप्त भईसकेका छन् ।

त्यस्तै पुरन्दह सर, मध्यमा सर, प्रेम सरोवर, धूतपाप सर, जोगी झा पोखरी, छत्रधारिणी सर, गुणमती सर, परीक्षण कुण्ड, सेवामन्तक कुण्ड, ठाढी पोखरी, गेन्हा पोखरी, नत्थू सागर, पूरनी पोखरी, सुब्बा पोखरी, सिंगरहिया पोखरी, चिताहा पोखरी, महन्थ पोखरी, कमला कुण्ड, विडाल सर, पाकवती सर, भृगु सर, तैलघृतिका सर, मण्डन सर लगायतकाहरु लोपोन्मूख अवस्थामा रहेका छन् ।

तत्कालिन जनकपुर नगरपालिकाद्धारा तयार पारिएको जनकपुर टाउन प्रोफाईल २०४८ अनुसार जनकपुरधाममा ४० हेक्टरमा जम्मा ८२ वटा पोखरीहरु थिए । जसमध्ये २४.१ प्रतिशत ठिक अबस्थामा,४३.१ प्रतिशत नराम्रो अबस्थामा र ३२.८ प्रतिशत पोखरीले आफ्नो अस्तित्वसमेत गुमाईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्