केकलाई मुद्दा बनाएर कांग्रेसले राजनीति गर्‍यो : प्रधानमन्त्री ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनमा काटिएको केकको विषयलाई मुद्दा बनाएर कांग्रेसले राजनीति गरेको आरोप लगाएका छन् ।

उनले सरकारको विरोध गर्ने केही विषय नपाएपछि कांग्रेसले केकको विषयलाई उठाएर राष्ट्रवादी बन्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनमा जनताले जन्मदिन भन्दा पनि खानेपानी, विजुली पुगेको अवसरमा खुसी मनाएको बताए ।

तर विजुली धारा पुगेको नदेख्नेहरुले धुमधामसँग जन्मदिन मनाएको भनेर आलोचना गरेको उनले बताए । आफूले नाच्न पनि नभनेको र केक ल्याउन पनि नभनेको भन्दै उनले भने, ‘मैले त हेर्दा पनि हेरिनँ, कति केक ल्याए र लगे ।’

मोदी, ओबामाको केक बनाएको हेर्न आग्रह गर्दै उनले भने, ‘हिजो नाकाबन्दी भएको बेला चुप बस्ने, नाकाबन्दीसमेत भन्न नसक्नेहरु अहिले केक राष्ट्रवादी भएका छन् । यसरी कांग्रेसले राजनीति गर्छु भन्ने ठानेको छ भने बेकारको कुरा हो ।’

नेपालको नक्सा अंकित केक काटेको भन्दै भएको आलोचनालाई उनले केक राष्ट्रवादको संज्ञा दिए । आफू केही दिन संसदमा नजाँदा संसदबाट भाग्न खोजेको भन्नेहरुलाई ओलीले केही दिनमा सबै जवाफ सहित संसदमा उपश्थित हुने बताए ।

प्रतिक्रिया दिनुहोस्