हाइब्रिड मकैमा भाइरसको संक्रमण



सर्लाही : किसानले लगाएको हाइब्रिड जातको मकैमा ‘र्याडो फिनो मेडस्ट्रीक भाइरस’ को व्यापक संक्रमण देखिएको छ ।

जिल्लाको कर्मैया, ढुङ्ग्रेखोला, जिरायत, रानीगञ्जलगायतका स्थानका किसानले लगाएको हाइब्रिड जातको मकैमा उक्त भाइरसको व्यापक संक्रमण देखिएको हो ।

भर्खरै धानचमरा आउन लागेको मकैमा पात सुक्ने, मकैको पात रातो हुने, गुंभो सुक्ने तथा काटिने, पात खुइलिने र प्वाल पर्ने गरेको किसानले गुनासो गरेका छन् । उखुखेती लगाउँदा उखुको भुक्तानी नपाएको पीडामा परेका किसान खेती परिवर्तन गरी मकैखेतीमा लागेका भए पनि मकैमा समेत संक्रमण देखिन थालेपछि थप पीडित बनेका छन् ।

मकैको पातसमेत रातो हुने, सुक्ने तथा गुंभो सुक्ने र काटिने समस्या देखिएको किसानले बताएका छन् । यस क्षेत्रमा लगाइएको अधिकांश मकैमा यो समस्या देखिएको स्थानीय किसान राजु महत्तोले बताए ।

धानचमरा लाग्ने समयमा मकैको बोट नै सुक्न थाल्नुका साथै मकैको बोटपात सुकेपछि जसरी नी किसान मर्ने नै रहेछ भन्ने अनुभव हुन थालेको अर्का किसान ठाकुर पौड्यालले बताए । किराका कारण वा अन्य कारण आफूहरुलाई थाहा नभएको तर मकैमा उक्त भाइरसको व्यापक संक्रमण देखिएपछि आफूहरु पीडित भएको किसानको गुनासो छ ।

मकैमा र्याडो फिनो र मेडस्ट्रीक भाइरसको संक्रमण देखिएपछि पात सुक्ने र मकैले खाना बनाउन नसक्ने भएका कारण मकै मर्ने गरेको उष्ण प्रादेशीय बागवानी केन्द्र नवलपुरका बाली संरक्षण अधिकृत राजेन्द्र यादवले बताए । उक्त भाइरसको संक्रमण देखिएपछि अन्नबालीमा ५० देखि १०० प्रतिशत उत्पादन घट्ने यादवको भनाइ छ ।

यो संक्रमण आफैँ नभई भुसुना जस्तैलाई किरा र लिफ होपर किराले एक स्थानबाट अर्काे स्थानमा सार्ने गरेको यादवको भनाइ छ । जिल्लामा हरेक वर्ष करिब १२ हजार हेक्टर क्षेत्रफलमा ५.३ लाख टन मकै उत्पादन हुने गरेको थियो । तर, पछिल्लो समयमा अन्नबालीमा विभिन्न किसिमका संक्रमण देखिएपछि उत्पादन घट्ने क्रम जारी रहेको छ ।

साथै मकैमा घोगा नलागी धानचमरामा दाना लाग्ने गरेको परवानीपुरका अर्का किसान विक्रम थापाले बताए । रासस

प्रतिक्रिया दिनुहोस्