मगरलाई प्रयोगका पात्र मात्र बनाइयो : मुख्यमन्त्री राउत



जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले हरेक कालखण्डमा मुलुकका लागि ज्यानको आहुती दिने मगर समुदायलाई शासक वर्गले प्रयोगको पात्र बनाएको बताएका छन् ।

नेपाल मगर संघको ३८ औँ स्थापना दिवसको अवसरमा प्रदेश नं.२ को कमिटीले रौतहटको मंगलपुरमा आज आयोजना गरेको कार्यक्रममा उनले राउतले राज्यको हरेक परिवर्तनको अग्रपंक्तिमा रहने मगर समुदायलाई आज पनि आफ्नो पहिचानको लागि संघर्ष गर्ने अवस्था रहनु दुर्भाग्यपूर्ण रहेको बताए ।

उनले भने,“पृथ्वीनारायण शाहको राज्य विस्तार होस् वा राणाविरुद्धको आन्दोलन वा माओवादीको जनयुद्ध सबैमा मगर समुदायको भूमिका महत्वपूर्ण रह्यो तर सबैले मगर समुदायलाई प्रयोग मात्र गरिरहे, यो अन्यायपूर्ण हो ।” उनले पहिचानको लागि विभेद्मा रहेका मधेशी, आदिवासी जनजाति, दलित, महिला मुस्लिमलाई एक हुनु विकल्प नरहेको बताए ।

अहिलेको शासन सत्ता सञ्चालन गर्नेहरु समेत एक जाति एक भाषालाई मात्र प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले पहिचानको लागि पुन : आन्दोलन गर्नुपर्ने बताए ।

पहिचानको आधारमा गठन भएको प्रदेश २ को सरकार प्रदेशमा बसोबास गर्ने सबै समुदायको पहिचान स्थापित गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले प्रदेश २ को नामकरण पहिचानकै आधार मधेश प्रदेश हुने दाबी गरे । मगर संघका प्रदेश अध्यक्ष यमबहादुर खपाङ्गी मगरको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसभासद रामकुमार भट्टराई, मगर संघका इन्चार्ज लेखराज मगरलगायतका वक्ताहरु बोलेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्