पूर्वराज्यमन्त्री संजय कुमार साह दोषी ठहर, ४ वर्ष कैद सजाय



जनकपुरधाम : पूर्वराज्यमन्त्री संजय कुमार साहलाई विशेष अदालतले दोषी ठहर गरेको छ ।

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाको अन्तिम सुनुवाई सम्पन्न भएसँगै साहलाई भ्रष्टाचार मुद्दामा ४ वर्ष कैद, १९ करोड ४४ लाख ३८ हजार ९ सय ८३ रुपैयाँ ९० पैसा जरिवाना तथा सोही बराबरको बिगो जफत हुने फैसला सुनाइएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए ।

भ्रष्टाचारमा जेल र जरिवाना तोकिए पनि सम्पत्ति शुद्धीकरण मुद्दामा भने दोषी ठहर भई सजाय तोक्न बाँकी रहेको पाण्डेले बताए ।उनले भने,‘सम्पत्ति शुद्धीकरण कसुरमा फागुन २९ मा सजाय किटान गर्न अर्को पेशी तय भएको छ ।’

विशेष अदालतमा न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासमा आज(बिहीबार) सम्पन्न भएको सुनुवाईमा साहलाई कैद र जरिवानाको फैसला सुनाइएको हो ।

पूर्वराज्यमन्त्री साहविरुद्ध अख्तियारले साढे ३१ करोड र सम्पत्ति शुद्धीकरण विभागले ३२ करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

धनुषा क्षेत्र नम्बर ३ का तत्कालीन सांसद समेत रहेका साहले राज्यमन्त्री पदको व्यापक दुरुपयोग गर्दै भ्रष्टाचार गरेको अभियोगमा २०७३ पुस २५ गते अख्तियार र २०७४ साल चैत १६ गते सम्पत्ति शुद्धिकरण विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

जनकपुर बम काण्डमा मुछिएका साह अहिले जेलमै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्