प्रेममा परेर हत्या र आत्महत्या



एजेन्सी : भारतको बेंगलुरुस्थित राजराजेश्वरी नगर प्रहरीले ३२ वर्षीया एक गृहिणीको आत्महत्याको मामिलामा महत्त्वपूर्ण खुलासा गरेको छ ।

प्रहरीले पत्ता लगाएअनुसार, ती महिलालाई उनका पतिले हत्या गरेका हुन् । हत्यापछि उनले पत्नीको गहना प्रेमिकालाई पठाए ।

पत्नी कविताको हत्या गरेको आरोप दन्तचिकित्सक डा रेवन्तमाथि लागेको छ । तर प्रहरीले उनलाई पक्राउ गर्नुअघि उनले शनिवार अपराह्न ट्रेनमुनि हाम्फालेर आत्महत्या गरे ।

आत्महत्याअघि उनले आफ्नी प्रेमिका हर्षितालाई त्यसको जानकारी दिएका थिए । हर्षितालाई हत्या र आत्महत्याको योजनाका बारेमा जानकारी थियो भन्ने आशंका प्रहरीले गरेको छ ।

डा रेवन्तसँग शनिवार नै लामो समय कुरा गरेपछि हर्षिता पनि घरैमा फाँसी लगाएर आत्महत्या गरिन् । मंगलवार प्रहरीले हर्षिताको घरबाट सुनका गहना बरामद गरेको छ ।

हर्षिता आफैं विवाहित महिला हुन् । उनको बिहे सरकारी बस चालक सुदर्शनसँग भएको थियो ।

एक अनुसन्धानकर्मीले बताए, ‘फागुन ५ गते साँझ डा रेवन्तले आफ्नी पत्नीलाई इन्जेक्सन दिए अनि घाँटी काटेर उनको हत्या गरृ । अनि उनले पत्नीका सबै गहना निकाले र लाशबाट समेत गहना झिके अनि हर्षितालाई पठाए । हर्षिताले भोलिपल्ट गहना लिइन् ।’

प्रतिक्रिया दिनुहोस्