कोरोनाभाइरस : अप्रिलसम्म सबै स्कुल बन्द गर्ने जापानको घोषणा



एजेन्सी : जापानका प्रधानमन्त्री सिन्जो आबेले त्यहाँका सबै स्कुल सोमबारदेखि बन्द गर्न निर्देशन दिएका छन्। आबेले बिहीबार देशका सबै प्राथमिकदेखि हाइस्कुलहरू सोमबारदेखि बन्द गर्न निर्देशन दिएका हुन् जुन बन्द आगामी अप्रिलसम्म चल्नेछ।

जापान टाइम्सका अनुसार एक-दुई सातापछि त्यहाँका स्कुलमा ‘स्प्रिङ’ बिदा सुरू हुनेछ। संसारभर त्रास फैलाइरहेको कोरोना भाइरसका कारण दिइएको यो निर्देशनले अब जापानका स्कुल अप्रिलको पहिलो सातासम्म बन्दै रहनेछन्।

‘हरेक क्षेत्रका केटाकेटीलाई संक्रमणबाट जोगाउन सकियोस् भनेर यो प्रयास गरिएको हो। र, यी एक-दुई साता एकदमै कठिन समय हुनेछ,’ आबेले भनेका छन्, ‘केटाकेटीको स्वास्थ्य र सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको छ।’

पछि जापानका स्वास्थ्यमन्त्रीले आबेको निर्देशन केटाकेटीलाई दिउँसो हेरविचार गर्ने केन्द्रहरू र प्राथमिक स्कुलका केटाकेटीलाई स्कुलपछि दिइने हेरविचार सुविधामा भने लागू नहुने बताएका थिए।

जापानमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएपछि आबेले एक्कासी यो घोषणा गरेका जापान टाइम्सले लेखेको छ।

बिहीबार साँझसम्म त्यहाँ कोरोना भाइरस संक्रमित संख्या २०० भन्दा बढी पुगेको छ। योबाहेक डाइमन्ड प्रिन्सेस क्रुज सिपमा ७०० भन्दा बढी संक्रमितहरू भएको बताइएको छ।

प्रधानमन्त्री आबेको निर्देशन अगावै होकाइदोका धेरैजसो प्राथमिक र जुनियर हाइस्कुलले एक साता बन्द गर्ने निर्णय गरेका थिए। होकाइदोमा ५० भन्दा बढी संक्रमितमध्ये केही केटाकेटी पनि भएकाले होकाइदो शिक्षा बोर्डले स्थानीय निकायहरूलाई अस्थायी रूपमा सबै निजी र सार्वजनिक स्कुल बन्द गर्न ताकेता गरेको थियो।

‘हामी होकाइदोबासीलाई सुरक्षित राख्न र भविष्यमा आइपर्ने संक्रमण कम गर्न सक्दो प्रयास गर्नेछौं,’ होकाइदोका गभर्नर नाओमिची सुजुकीले भनेका छन्।

होकाइदोको राजधानी सप्पारोमा तीन सयभन्दा बढी प्राथमिक र जुनियर हाइस्कुल छन् जुन शुक्रबारदेखि मार्च ६ सम्म बन्द हुनेछन्। होकाइदो शिक्षा बोर्डका अनुसार स्कुल बन्द गरिएको अवधिमा संक्रमण भएका शिक्षकहरूको स्वास्थ्य जाँच गरिनेछ।

यस्तै टोकियोको ओचानोमिजु विश्वविद्यालयले पनि यसअगावै शुक्रबारदेखि अप्रिलसम्म आफ्ना मातहतका स्कुल बन्द गर्ने बताइसकेको छ। जापानी राजा नारूहितोका १३ वर्षीय भतिजा तथा राजकुमार हिसाहितो यही विश्वविद्यालय मातहतको जुनियर हाइस्कुल पढ्छन्।

स्कुलका अधिकारीले यति लामो समय स्कुल कहिल्यै बन्द नगरिएको बताएका छन्।कानागावा सरकारले पनि स्कुलका ग्राजुएसनलगायतका अवसरमा विद्यार्थीका आमाबुवा तथा अभिभावकलाई उपस्थित नगराउने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्