रुस: आफ्नो ‘डुप्लिकेट’ प्रयोग नगरेको राष्ट्रपति भ्लादिमिर पुटिनले बताए



एजेन्सी : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सुरक्षार्थ ‘बडी डबल’ वा ‘डुप्लिकेट’ (आफूजस्तै देखिने अर्का व्यक्ति) प्रयोग गर्ने प्रस्ताव अस्वीकार गरेको बताएका छन्।

सन् २००० को दशकको सुरुवातमा चेचेन्यामा पृथकतावादीविरुद्ध रुस लडिरहेका बेला त्यस्तो प्रस्ताव ल्याइएको उनले बताए।

केजीबी भनिने रुसी गुप्तचर निकायका पूर्वअधिकारी पुटिनले त्यसबेला उक्त क्षेत्रमा कैयौँ भ्रमण गरेका थिए।

उनीबारे वर्षौँदेखि चलेका विभिन्न हल्लामध्ये आफ्नो सुरक्षार्थ आफूजस्तै देखिने व्यक्ति प्रयोग गर्ने हल्ला पनि एक हो।

सन् २००० देखि सत्तामा रहेका पुटिनले भने आफूले प्रत्येक पटक त्यस्तो प्रस्ताव अस्वीकार गरेको बताएका छन्।

रुसको तास समाचार एजेन्सीका एक पत्रकारले पुटिनसँगको अन्तर्वार्ताका क्रममा यस विषयमा प्रश्न गरेका थिए।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन

सुरुमा ती पत्रकारले भने, “‘पुटिन्स डबल’ अनि ‘पुटिनको बडी डबलबारे प्रमाण’ शब्द रुसी राष्ट्रपतिबारे इन्टरनेटमा खोजिने सबैभन्दा लोकप्रिय विषयमा पर्छन्।”

त्यसपछि ती पत्रकारले सोधे, “के तपाई पुटिन नै हो?”

प्रतिउत्तरमा उनले आफू साच्चिकै पुटिन नै रहेको बताए र त्यसपछि सुरक्षाका लागि आफूले “बडी डबल” प्रयोग गर्ने गरेको भन्ने विषय खण्डन गरे।

उनले त्यस्तो विचार सन् १९९९ देखि २००९ सम्म चलेको युद्धका बेला अघि सारिएको बताए।

राष्ट्रपतिका रूपमा पुटिनको हालको कार्यकाल सन् २०२४ मा सकिने छ।

तर उनले नयाँ भूमिका खोज्न सक्ने वा पर्दा पछाडिबाट सत्तामा पकड राख्ने अडकल गरिएको छ।

पुटिन जोसेफ स्टालिनपछि सबैभन्दा लामो समयसम्म शासन गर्ने रुसी नेता हुन्।

स्टालिनले ३१ वर्षसम्म शासन गरेका थिए।

गत ज्यानुअरीमा पुटिनले सांसदहरूलाई गरेको सम्बोधनका क्रममा संविधानमा व्यापक परिवर्तनको प्रस्ताव गरेका थिए।

ती परिवर्तनको परिणाम के हुने भन्ने विषय अहिले नै स्पष्ट छैन।

तर विश्लेषकहरूले भने कुनै न कुनै हिसाबले सत्ताको बागडोर पुटिनकै हातमा राख्ने कुरा ती परिवर्तनले सुनिश्चित गर्ने शङ्का व्यक्त गरेका छन्।

जासुस हुँदै राष्ट्रपति
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन
  • सन् १९५२: अक्टोबर ७ मा रुसको दोस्रो ठूलो शहर लेनिनग्राड (अहिलेको सेन्ट पिटर्सबर्ग) मा जन्मिएका पुटिनले कानुन पढे र केजीबी भनिने राष्ट्रिय सुरक्षा समितिमा भर्ती भएर साम्यवादी पूर्वी जर्मनीमा जासुसका रूपमा काम गरे।
  • सन् १९९० को दशकः पुटिनले सेण्ट पिटर्सबर्गका मेयर बोरिस यल्त्सिनका उच्च सहयोगीका रूपमा काम गरे। उनलाई केजीबीको उत्तराधिकारी एफएसबीको प्रमुख बनाइयो।
  • सन् १९९९: बोरिस यल्त्सिनको राजीनामापछि प्रधानमन्त्रीमा नियुक्त।
  • सन् २०००: राष्ट्रपतिका रूपमा निर्वाचित भए र दुईवटा चार वर्षे कार्यकाल पूरा गरे।
  • सन् २००८: संवैधानिक प्रावधानका कारण लगातार तेस्रो पटक राष्ट्रपति हुन पाएनन् तर आफ्ना राजनीतिक शिष्य दिमित्री मेदभेदेभ राष्ट्रपति हुँदा प्रधानमन्त्री बन्ने पुटिनको कदमबाट धेरै विश्लेषकहरू आश्चर्यमा परे।
  • सन् २०१२: नयाँ कानून अन्तर्गत छ वर्षे कार्यकालका लागि राष्ट्रपतिमा पुनः निर्वाचित।
  • सन् २०१८: चौथो कार्यकालका लागि निर्वाचित।

लामो समयदेखि शासन गरिरहेको भए पनि रुसका जनताले पुटिनलाई रूचाएको देखिन्छ।

रुसी सञ्चारमाध्यमका अनुसार उनको लोकप्रियताबारे पश्चिमा नेताहरू कल्पना मात्र गर्न सक्छन्। वीवीसीबाट

प्रतिक्रिया दिनुहोस्