धोबीधारामा ‘मीरा साउन्ड रेकर्डिङ स्टुडियो’ सञ्चालनमा



काठमाडौं : काठमाडौंको धोबीधारामा मीरा साउन्ड रेकर्डिङ स्टुडियो बिहीबारबाट संचालनमा आएको छ ।

गायिका अन्जु पन्तले मीरा साउन्ड रेकर्डिङ स्टुडियोको रिवन काटेर बिहीबार औपचारिक रुपमा उद्घाटन गरेकी छन् ।

गायिका पन्तले उद्घाटन समारोहमा बोल्दै संगीतकार विकास चौधरीको व्यवस्थापनमा आएको मीरा साउन्डमा पक्कै पनि गुणस्तरीय रेकर्डिङ हुने बताइन् ।

स्टुडियोको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी संगीतकार विकास चौधरीको जिम्मामा रहेको छ भने रेकर्डिङ तथा मिक्सिङमा गोविन्द सोनी रहेका छन् । मीरा साउन्डमा गीतकार हरि उप्रेती, गायक लोक पौडेल संचालक रहेको छन् भने मीरा पाठक स्टुडियोको प्रोप्राइटर रहेकी छन् ।

मिरा साउन्डमा गीतसंगीत रेकर्डिङ, फिल्म डविङ एवं अत्याधुनिक प्रविधियुक्त क्यामेरा, ड्रोन क्यामेरा लगायतका फिल्म तथा म्यूजिक भिडियोको सुटिङका लागि आवश्यक पर्ने सामग्रीहरु समेत भाडामा उपलब्ध गराइने संगीतकार विकास चौधरीले जानकारी दिए ।

स्टुडियो उद्घाटनसँगै अन्जु पन्त फाउन्डेशनलाई २५ हजार ५ सय ५५ रुपैयाँ पनि प्रदान गरिएको थियो । सो रकम लेखक निर्देशक लय संग्रौला, ओम प्रतीक, उदय सुब्बा, नृत्य निर्देशक दिनेश पाख्रिन र संगीतकार विकास चौधरीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा लेखक निर्देशक ओम प्रतीक, निर्देशक उदय सुब्बा, नृत्य निर्देशक दिनेश पाख्रीन, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी लगायत पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार दयाराम घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्