सुत्केरी पोषण कार्यक्रम प्रभावकारी बन्दै



झापा : कनकाई नगरपालिकाले शुरु गरेको सुत्केरी पोषण कार्यक्रम प्रभावकारी भएको छ ।

कार्यक्रम प्रभावकारी भएसँगै जिल्लाका अन्य स्थानीय तहले पनि सुत्केरी पोषण कार्यक्रम शुरु गरेका हुन् । झापाका १५ स्थानीय तहमध्ये सबैभन्दा पहिले कनकाई नगरपालिकाले कार्यक्रम शुरु गरेको थियो ।

वि.सं.२०७४ साउनबाट शुरु गरेको कार्यक्रमबाट हालसम्म ४३० सुत्केरीले पोषण अन्तर्गत पाउने सेवा सुविधा लिएको नगरपालिकाका सूचना अधिकारी हरिप्रसाद मिश्रले बताए । यो कार्यक्रम अन्तर्गत नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पोषणबापत २ हजार रुपैयाँ रकम प्रदान गर्ने व्यवस्था गरेको छ ।

शुरुमा नगरपालिकाले सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण, गर्भ जाँच र सुत्केरी हुने महिलालाई २ केजी घ्यू, क्यालसियम र झुल घरमै पुर्याउने गरेको थियो । बजारबाट खरिद गरिने ध्यूमा कैफियत पाएपछि हाल नगद २ हजार प्रदान गर्दै आएको उनको भनाइ छ ।

‘उपमेयर सुत्केरी पोषण कार्यक्रम’ नाम राखेर नगरपालिकाका उपप्रमुख मञ्जु प्रसाईले नगद ५० हजार जम्मा गरेर कोष नै स्थापना गरेका थिए । सोही कोषमा नगरपालिकाले प्रत्येक वर्ष ५ लाख थपेर खर्च गर्दै आएको छ । उनले भने, “सुत्केरी अवस्थामा अतिविपन्न परिवारका सुत्केरी महिलाले पोसिलो खाने कुरा खान नपाउँदा बच्चामा कुपोषण हुन्छ । त्यसैलाई रोक्नका लागि थोरै भए पनि सहयोग गरौं भन्ने उद्देश्यले यो कार्यक्रम शुरु गरका हौँ, अहिले यो अत्यन्त प्रभावकारी भइरहेको छ ।”

वि.सं.२०६८ को जनगणना अनुसार ४१ हजार जनसंख्या रहेको नगरपालिकामा हाल बढेर ४७ हजार पुगेको सूचना अधिकारी मिश्रको भनाइ छ । उनले भने, “मुसहर, सन्थाललगायतका अतिविपन्न परिवारलाई यो कार्यक्रमले राहत पुगेको छ । नाम लेखाइसकेका ४० ले अझै सुविधा लिन बाँकी छ ।” स्वास्थ्य संस्थामा प्रसूति हुन आउनका लागि प्रोत्साहन स्वरुप यो कार्यक्रम ल्याइएको उनले जानकारी दिए ।

मेचीनगर नगरपालिकाले समेत सो कार्यक्रम चालु आर्थिक वर्ष २०७६-०७७ को साउनबाट शुरु गरेको छ । ५ लाखको बजेट राखेर शुरु गरेको कार्यक्रममा हाल सो बजेट सकिएर रु १० लाख थप गरी १५ लाख बनाएको नगरका सूचना अधिकृत पदमबहादुर कार्कीले बताए ।

उनका अनुसार चालु आवको ७ महिनाको अवधिमा २५० सुत्केरी महिलाले सुत्केरी पोषण कार्यक्रम अन्तर्गतको सेवा लिएका छन् । नगरपालिकाले प्रतिसुत्केरी नगद २ हजार दिने गरेको उनले बताए । उनले भने, “सेवा लिन आउने बढी अति विपन्न परिवारका करुवा, किसान, सन्थाललगायत छन् ।” गर्भवती अवस्थामा स्वास्थ्य जाँच गराउन स्वास्थ्य केन्द्र नपुग्ने उनीहरु सुविधा पाउने भएपछि नियमितरुपमा स्वास्थ्य जाँच गराउन र सुत्केरी हुन अस्पताल वा नजिकको स्वास्थ्य केन्द्रमा पुग्ने गरेको नगरपालिकाका स्वास्थ्य विभाग प्रमुख शशी राईले बताए ।

उनले शुरुमा घरघरमा स्वास्थ्य स्वयंसेवक महिला पठाएर गर्भवती अवस्थामा स्वास्थ्य परीक्षण गराउन अभिप्रेरित गर्दासमेत नजाने महिला सुविधा पाएसँगै अहिले आफैँ अस्पताल पुग्ने गरेको बताए । मेचीनगरमा मात्र लोपोन्मुख समुदाय किसान, मेचे, सन्थाल, मुण्डा, माझीलगायत २३ जातिको बसोवास रहेको छ । हालको मेचीनगर नगरपालिकाको जनसंख्या १ लाख ३० हजारको हाराहारीमा रहेको सूचना अधिकृत कार्कीको भनाइ छ ।

त्यसैगरी यो कार्यक्रम झापा गाउँपालिका, कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाको वडा नं. १० ले समेत संचालनमा ल्याएको छ । जिल्ला समन्वय समितिकी उपप्रमुख मीना पराजुलीले सुत्केरी पोषण कार्यक्रमले गरिब तथा अतिविपन्न परिवारका महिलालाई राहत पुग्ने बताउँदै झापाका १५ वटै स्थानीय तहमा लागू हुनुपर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस्