हेलिकप्टर चढेरै चितवनबाट सुकुटे पुगे प्रचण्ड



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हेलिकोप्टर चढेर सुकुटे गएका छन् ।

शुक्रबार बिहानै एयर डायनास्टीको हेलिकोप्टर चढेर गृहजिल्ला चितवन गएका प्रचण्ड दिउँसो सिन्धुपाल्चोकको सुकुटे गएका हुन् ।

पोल्ट्रीसम्बन्धी एउटा कार्यक्रममा सहभागी हुन उनी भरतपुर पुगेका थिए।

कार्यक्रम नसकिउन्जेल हेलिकप्टरले प्रचण्डलाई कुरिरह्यो।

दिउँसो कार्यक्रम सकेर हेलिकप्टर चढेका प्रचण्ड काठमाडौं विमानस्थलमा अवतरण भएनन् । उनी सिधै सुकुटे रिसोर्ट गएका छन् ।

प्रचण्डका प्रेस सल्लाहकार बिष्णु सापकोटाका अनुसार शनिबार सुकुटे महोत्सवका लागि प्रचण्ड पूर्वनिर्धारित कार्यक्रमअनुसार नै गएका हुन् ।

देशको राजनीतिक अवस्थामा तनाव सिर्जना भएसँगै प्रचण्ड सुकुटे रिसोर्ट जाने गर्छन् । आरामका लागि सुकुटे गइरहने प्रचण्ड यसपाली पनि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने कि नपठाउने भन्ने विषयमा भइरहेको विवादपछि उनी रिसोर्ट गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्