महिलामाथि लाठी प्रहार गर्ने प्रहरी निरीक्षकविरुद्ध अनुसन्धान सुरु



काठमाडौं : बच्चा काखमा बोकेकी महिलालाई लाठी हान्ने प्रहरी निरीक्षक विरुद्ध महानगरीय प्रहरीले अनुसन्धान थालेको छ ।

सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्रीको घरमा छिरेका महिलाहरूको समूहलाई बाहिर निकाल्ने क्रममा निरीक्षक देवीप्रसाद पौडेले महिलालाई लाठी हानेका थिए । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको निर्देशनमा सचिवालयले आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई भिडियो सहित जानकारी गराएको थियो ।

ललितपुर परिसरलाई घटनाको अनुसन्धान र दोषी उपर कारबाहीका लागि निर्देशन दिइएको छ । एसएसपी टेकप्रसाद राईले अनुसन्धान र कारबाहीको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्