आज पारित होला त चिकित्सा शिक्षा विधेयक ?



काठमाडौंः संसदको आज बस्ने बैठकबाट जबरजस्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी छ । प्रमुख प्रतिपपक्षी दल नेपाली कांग्रेसको विरोधका बीच ‘विवादित विधेयक’ पारित हुने सम्भावना प्रबल छ । कांग्रेसले आफूसित छलफल नगरी विधेयक पारित गर्ने कार्यसूची बनाइएको भन्दै आपत्ति जनाइरहेको छ ।

केही दिनअघि संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित विधेयकलाई संसदमा पास गरी पारित गर्ने सरकारको तयारी छ । संसदीय समितिबाट पारित विधेयकप्रति असन्तुष्टि जनाउँदै डाक्टर गोविन्द केसी अनशन बसिरहेका छन् ।

केसी अनसन र प्रमुख प्रतिपक्षीको विरोधका बामजुत विधेयक पारित गर्ने तयारी भएपछि दलहरुसँगै नागरिक समाज कित्ता हुने सम्भावना बढेको छ । संसदमा विधेयक पेस भएर पारित प्रस्ताव भएलगत्तै कांग्रेसका सांसदले उठेर विरोध गर्ने सम्भावना छ । विरोधकैबीच विधेयक पारित गर्न खोजे कांग्रेसले संसद बहिष्कार गर्ने सम्भावना छ । 

नेपाली कांग्रेसले बहिष्कार गरे पनि विधेयकले दुईतिहाई बहुमत समर्थन पाउने छ । संसदीय अभ्यासमा दुईतिहाई बहुमतबाट पारित विधेयकले कानुनको मान्यता पाउने छ । केहीदिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दिएको जवाफ अनुसार पनि सरकारले पेलेरै चिकित्सा शिक्षा विधेयक पारित गर्ने संकेत दिएका थिए । उनले भनेका थिए, ‘संसदलाई आदेश दिन सक्दिनँ, एकजनाको हठले संसदीय प्रक्रिया अवरुद्ध हुनुुहुन्न ।’

सरकार पक्षले संसदीय समितिबाट पारित विधेयकमा अनशनरत डाक्टर केसीको माग सम्बोधन भइसकेको दाबी गरेको छ भने केसी समर्थकले मुद्दा र मागलाई तोडमोड गरेको आरोप लागाएका छन् ।

प्रतिक्रिया दिनुहोस्