आँखा अस्पतालको भवन हस्तान्तरण



उदयपुर : त्रियुगा नगरपालिका-१० गाईघाटको बोक्सेमा जापानी राजदूतावासको सहयोगमा निर्माण गरिएको नवनिर्मित उदयपुर आँखा अस्पताल भवनको आज एक कार्यक्रमबीच नेपालका लागि जापानी राजदूत मासिमिकी साइगुले औपचारिक रुपमा नेत्र ज्योति संघ जिल्ला शाखालाई हस्तान्तरण गरेका छन् ।

राजदूत साइगुले नवनिर्मित भवन नेत्रज्योति संघका अध्यक्ष भागवत राउतलाई भवनको चाबी हस्तान्तरण गरेको थियो । राजदूत साइगुले जापान सरकारले नेपाल एउटा असल मित्र देश भएको नाताले विभिन्न आर्थिक विकासमा सहयोग गर्दै आएको बताए ।

पहाडी जिल्ला खोटाङ, ओखलढुंगा, सोलु र भोजपुरका दुर्गम भेगका जनताले समेत नयाँ भवनमा अस्पताल सञ्चालन भएपछि आँखाको उपचारमा सहजता पाउने कुराले आफू निकै खुशी भएको भन्दै राजदूत साइगुले जापान सरकारले नेपालको विकासमा निरन्तर सहयोग गरिरहने धारणासमेत राखे ।

१ करोड ६० लाखभन्दा बढी आर्थिक लगानीमा निर्माण भएको आँखा अस्पताल भवन निर्माणका लागि जापानी राजदूतावासबाट रु ९० लाख ५० हजार बराबरको आर्थिक सहयोग भएको नेत्रज्योति संघले जनाएको छ ।

उक्त कार्यक्रममा नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष डा.चेतराज पन्त, २ नं प्रदेश तथा सगरमाथा आँखा अस्पताल सिरहाका अध्यक्ष राजेन्द्र चौधरी, संविधानसभा सदस्य मञ्जुकुमारी चौधरी र मोहन पौडेल तथा सहायक प्रजिअ प्रेमप्रसाद भट्टराईलगायतको उपस्थिती रहेको थियो ।

आँखा अस्पताल संचालनका लागि प्रदेश नं.१ को सरकार र स्थानीय सरकारको समेत सहयोगमा जनशक्ति व्यवस्था गरेर सञ्चालन गर्न लागिएको नेत्रज्योति संघले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्