बर्थिङ्ग सेन्टरमा प्रसुती गराउने महिलाको संख्या बढ्दै



जनकपुरधाम : धनुषा जिल्लामा यस आर्थिक वर्षको ७ महिनामा बर्थिङ्ग सेन्टरमा प्रसुती गराउने महिलाहरुको संख्या तुलनात्मक रुपमा बढेको छ ।

साउनदेखि माघसम्ममा स्वास्थ्य संस्था मार्फत ७ हजार १ सय ९ जनाले प्रसुती गराएका छन् । जसमध्ये ५ हजार ९ सय १३ जनाले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा बच्चा जन्माएका छन् भने २ सय ६ जना महिलाले मात्रै घरमा बच्चा जन्माएको स्वास्थ्य कार्यालय धनुषाको तथ्यांकमा उल्लेख छ ।

प्रदेश २ मा यो संख्या ३१ हजार ८० रहेको छ भने देशभरीमा १ लाख ८७ हजार ३ सय ४५ जना महिलाले स्वास्थ्य संस्थामा बच्चालाई जन्म दिएका छन् ।

क्षिरेश्वर नगरपालिकामा महेन्द्रनगर प्राथमिक स्वास्थ्य केन्द्र,मिथिलाबिहारी नगरपालिकामा तरापट्टी हेल्थ पोष्ट,धनुषाधाम नगरपालिकामा धनुषा प्राथमिक स्वास्थ्य केन्द्र,लक्ष्मिनीया गाउँपालिकामा सिनुरजोडा हेल्थ पोष्ट,मिथिला नगरपालिकामा ढल्केबर हेल्थ पोष्ट,गणेशमान चारनाथ नगरपालिकामा भरतपुर हेल्थ पोष्ट र गोदार हेल्थ पोष्ट,सबैला नगरपालिकामा सबैला प्राथमिक स्वास्थ्य केन्द्र,शहिदनगर नगरपालिकामा यदुकुहा प्राथमिक स्वास्थ्य केन्द्र,विदेह नगरपालिकामा बफै हेल्थ पोष्ट,औरही गाउँपालिकामा देउरी परवाहा प्राथमिक स्वास्थ्य केन्द्र,हंसपुर नगरपालिकामा हंसपुर कठपुल्ला हेल्थ पोष्ट,जनकपुरधाम उपमहानगरपालिकामा कुर्था हेल्थ पोष्ट र जनकनन्दनी गाउँपालिकामा खजुरी हेल्थ पोष्ट लगायत १४ वटा बर्थिङ्ग सेन्टरहरु सरकारी स्तरमा सञ्चालनमा रहेको स्वास्थ्य कार्यालय जनकपुरकी पब्लिक हेल्थ नर्स किरण कुमारी चौधरीले जानकारी दिईन् ।

जसमध्ये धनुषाधाम नगरपालिकास्थित धनुषा प्राथमिक स्वास्थ्य केन्द्र निश्कृय अवस्थामा रहेको छ । त्यहाँ चालु आर्थिक बर्षको सात महिनाको अवधिमा एकजना महिलाले मात्र प्रसुती गराएको उनले बताईन् । जबकी धनुषा प्राथमिक स्वास्थ्य केन्द्र यस जिल्लाको सबैभन्दा पुरानो स्वास्थ्य केन्द्र हो ।

यता शहिदनगर नगरपालिकास्थित यदुकुहा प्राथमिक स्वास्थ्य केन्द्रमा यस सात महिनाको अवधिमा ५ सय ७२ जनाले प्रसुती गराएका छन् । यो जिल्लाकै सबै भन्दा बढि संख्या हो ।
सरकारले संस्थागत रुपमा डिलेभरी गराउनेहरुका लागि विभिन्न प्रकारको सुविधाहरुको व्यवस्था समेत गरेको छ । संस्थागत रुपमा डिलेभरी गराउनेहरुका लागि १ हजार रुपैयाँ यातायात खर्चको व्यवस्था, एक जना कुरुवा सहित ३ दिन वासको व्यवस्था र खानाको व्यवस्था उपलब्ध गराएको छ । यदि कुनै महिलाको शैल्यक्रिया मार्फत डिलेभरी हुन्छ भने उनीहरुका लागि विशेष सुविधाको व्यवस्था गरिएको छ । शैल्यक्रियाबाट हुने डिलेभरीका लागि ७ हजार ५ सय रुपैयाँ सम्मको सहयोगको व्यवस्था सरकारले गरेको छ ।

स्वास्थ्य कार्यालय जनकपुरकी पब्लिक हेल्थ नर्स किरण कुमारी चौधरीले धनुषाका अधिकांश अनमि र नर्सिङ्ग स्टाफहरु तालिमको अभावमा पनि राम्रो सेवा प्रदान गरिरहेको बताईन् । उनले अनमि र नर्सिङ्ग स्टाफहरुलाई अझ बढि दक्ष बनाउन झापाको दमकस्थित आम्दा हस्पिटलमा २ महिने स्किल बर्थ एटेन्डेन्टस तालिममा पठाईएको जानकारी दिईन् । शहिदनगरस्थित यदुकुहा प्राथमिक स्वास्थ्य केन्द्रबाट किरण मण्डल,सबैलास्थित सबैला प्राथमिक स्वास्थ्य केन्द्रबाट बबिता यादव र प्रस्तावित बर्थिङ्ग सेन्टर दुबरकोट हेल्थ पोष्टबाट पुनम लेखीलाई तालिममा पठाईको हो ।

गत वर्ष बर्थिङ्ग सेन्टरमा प्रसुती गराउने महिलाको संख्या १३ हजार ६८ थियो भने ५ सय ७२ जनाले मात्र घरमा बच्चा जन्माएको स्वास्थ्य कार्यालय धनुषाको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्