डाक्टर केसी कार्यरत अस्पतालमै मनलाग्दी ! 



काठमाडौंः काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालका डाक्टर गोविन्द केसी चिकित्सा शिक्षा सुधारका लागि भन्दै अनशन बसिरहेका छन् । तर, उनी कार्यरत अस्पतालकै स्थिति ‘हरिबिजोग’ छ । असीमित बेथितिग्रस्त शिक्षण अस्पतालमा आइसीयू अर्थात् सघन उपचार कक्षमा विरामी भर्ना गर्न समेत  ‘ठूलाबडा’कै भनसुन चाहिन्छ । 

सिकिस्त भएपछि मात्रै विरामीलाई राखिने आइसीयूका लागि अस्पताल प्रशासन पनि पहुँचवालकै टेलिफोन कुरेर बस्छ । यतिसम्म कि, खाली भएपनि सर्वसाधारणलाई आइसीयूमा भर्ना लिइदैन । 

आइसीयू कक्ष नपाएर तड्पिरहेका विरामी र विरामीका आफन्तको ठूलो भीड हुने गर्छ, अस्पतालमा । जटिल रोगबाट ग्रस्त विरामी र विरामीका आफन्तले आइसीयू कक्ष कुरेको धेरै दिन भइसक्यो । तत्काल आइसीयू कक्ष नपाएकै कारण कति विरामीको त ज्यानै गइसकेको छ । 

कोहि कोहि त धुकधुकी मात्रै बाँकि भएको स्थितिमा अस्पताल आइपुग्छन् । जसलाई तत्काल आइसीयूमा राखेर उपचार गर्नुपर्ने हुन्छ । तर, सर्वसाधारणका लागि यहाँ आइसीयू कक्ष असम्भवप्रायः छ ।

यहाँ आइसीयू कक्ष खाली नभएकै चाहिँ होइन । नेता वा पहुँचवालाको एक कल फोन आयो भने तुरुन्त आइसीयू कक्ष खाली हुन्छ । आइसीयू कक्षकै लागि पहुँचवालाको दैनिक फोन आइरहेकै हुन्छ । अर्थात्, नेता वा पहुँचवालका लागि आइसीयू कक्ष खाली राखिन्छ, तर सर्वसाधारण विरामीलाई भर्ना गरिँदैन । दैनिकजसो आइसीयूका लागि पहुँचवालको फोन आउने स्वीकार्छन्, शिक्षण अस्पतालका निर्देशक पनि ।

अस्पताल प्र्रशासनका अनुसार क्षमताभन्दा धेरै विरामी आउने भएकाले पनि उपचार गर्न कठिन भइरहेको छ । यहाँ प्र्रतिमहिना ६० हजारभन्दा बढी विरामी उपचारका लागि आउँछन् । तीमध्ये करिब चार हजार विरामीको स्थिति गम्भीर हुन्छ । जुन अस्पतालको क्षमताभन्दा ज्यादा हो । 

अस्पतालको क्षमता नहुनु एउटा कुरा हो, तर पहुँचवालाको फोन आउने वित्तिकै आइसीयूमा कक्ष मिल्ने, नत्र नमिल्ने सत्य चाहिँ दुर्भाग्यपूर्ण छ । स्वास्थ्यमा निकै गम्भीर समस्या भएपछि मात्रै आइसीयूमा राखेर उपचार गर्ने हो । आइसीयू कक्ष खाली भएकै स्थितिमा ‘फोर्स’ नपुगेकै कारण कोही विरामी मर्नुपर्ने स्थितिको अन्त्य हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्