शिक्षा र स्वास्थ्य राज्यको प्रमुख दायित्व : महान्यायाधिवक्ता खरेल



झापा : बिर्तामोडस्थित गरामनी क्याम्पसको भवन शिलान्यास गरिएको छ । आज एक कार्यक्रमबीच महान्यायधिवक्ता अग्नि खरेलले भवनको शिलान्यास गरेका हुन् ।

भवन शिलान्यास गर्दै उनले राज्यले शिक्षा क्षेत्रमा गरेको लगानी परिणाममुखी बनाउन सम्पूर्ण पक्ष लाग्नुपर्ने बताए । उनले नागरिकको शिक्षा र स्वास्थको व्यवस्थापन गर्नु राज्यको प्रमुख दायित्व भएको औँल्याए ।

भवन निर्माणका लागि सांसद विकास कोषबाट प्रदेश सरकारले ५० लाख विनियोजन गरेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य एकराज कार्कीले जानकारी दिए । उनले भने, “आगामी वर्ष थप बजेट विनियोजन गरेर निर्माण कार्य सम्पन्न गर्छौं” यो वर्ष भवनको ५ कोठा असार मसान्तसम्ममा बनाइ सक्ने जनाइएको छ ।

समाजसेवी होम पाण्डे, कृष्ण पाण्डे र हरि पाण्डेले बिर्तामोड-७ मा २ करोड मूल्य बराबरको ९ कट्ठा जग्गा नि : शुल्क दिएपछि सोही जग्गामा भवन निर्माण शुरु गरिएको हो । उनीहरुले क्याम्पस संचालनका लागि १ करोडको अक्षयकोषसमेत स्थापना गरेका छन् ।

वि.सं.२०७० सालमा स्थापना भएको क्याम्पसमा व्यवस्थापन संकाय संचालनमा पठनपाठन हुँदै आएको छ भने १२५ जना विद्यार्थी अध्ययनरत छन् । हाल भवन अभावका कारण क्याम्पसको पठन पाठन वडा नं ९ मा रहेको दुर्गा माविमा हुँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्