प्रधानमन्त्री अाेलीले दिए राजपा नेपाललार्इ छठसम्म माग सम्बाेधन गर्ने अाश्वासन



काठमाडाैं : संविधान संशोधन लगायतका विभिन्न माग राख्दै राष्ट्रिय जनता पार्टी साेमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ज्ञापन-पत्र पेश गरेकाे छ ।

 

राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर लगायतकाे टाेलीले सरकार गठन भएकाे ७ महिना वितिसक्दा समेत मधेसका मुद्दामा कुनै चाँसाे नगएकाे भन्दै विभिन्न मागकाे यथासिघ्र समाधान खाेजिदिन अनुराेध ज्ञापनपत्र बुझाएकाे हाे । 

 

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री अाेलीले दशै‌ं, तिहार तथा छठसम्म समाधानका उपाय खाेजिने प्रतिवद्धता जनाएकाे राजपाका नेताहरुले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार साँझ भएकाे भेटमा सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा अाेली र सुवास नेवाङ्ग र राजपा नेपालबाट अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु महेन्द्र राय यादव, अनिल कुमार झा, राजकिशोर यादव उपस्थित रहेकाे बताइएकाे छ ।


जिल्ला-जिल्लाबाट प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

संविधान संशोधन लगायतका विभिन्न माग राख्दै राष्ट्रिय जनता पार्टी नेपालले जिल्ला–जिल्लाबाट आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएको छ। जिल्ला प्रशाशन कार्यालय मार्फत पठाइएको ज्ञापन पत्रमा माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी समेत दिइएको छ।

 

राजपाले सोमबार विभिन्न जिल्लाबाट ज्ञापनपत्र बुझाएको छ। तर केन्द्रमा प्रधानमन्त्रीलाई नै भेटेर बुझाउने भनिएको ज्ञापनपत्रको भने समय निश्चित भइसकेको छैन।

 

सप्तरीका सिडिओ सुरेन्द्र पौडेललाई बुझाइएको ज्ञापनपत्रमा पूर्व सहमति अनुसार संविधान संशोधनका साथै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित रेशम चौधरीको शपथ ग्रहण, आन्दोलनका क्रममा पक्राउ परेकाहरु उपर चलाएको मुद्दा फिर्ता, निर्मला पन्त र सम्झना दासका हत्यारालाइ पक्राउ तथा कारबाही, महंगी नियन्त्रण लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ।

 

दुई तिहाइको वर्तमान सरकार हरेक मोर्चामा असफल हुनुका साथै विगतमा गरेको सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले दबाब दिने उद्देश्यले शान्तिपूर्ण प्रदर्शन र ज्ञापनपत्र बुझाइएको राजपाका नेताहरुले जनाएका छन्।

 

‘सरकार गठन भएको ७ महिना बितिसक्दा पनि प्रतिबद्धता अनुसार सरकारले संविधान संशोधनका लागि कुनै चासो देखाएन’, राजपा सप्तरीका सयोजक रामपृत यादवले भने, ‘अब पनि बेवास्ता गरिए समर्थन फिर्ता लिएर आन्दोलन चर्काउने निर्णय अनुसार अघि बढिरहेका छौं।’

 

ज्ञापन पत्र बुझाउनुअघि बजारमा जुलुस प्रदर्शन समेत गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्