अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवानबीच आज दोहामा शान्ति सम्झौता हुँदै



काठमाडौं : अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच दीर्घकालीन शन्ति सम्झौता हुने भएको छ । आज (शनिबार) कतारको राजधानी दोहामा दुई देशमा सक्रिय तालिवान लडाकुबीच शान्ति सम्झौता हुँदै छ ।

गत शनिबार अर्थात २२ फेब्रुअरीदेखि शुरु भएको समझदारीअनुसार आज २९ फेब्रुअरीमा दीर्घकालीन शान्ति सम्झौता गर्ने सहमति भएको थियो ।

एक साताअघि नै अमेरिका, अफगान सुरक्षाकर्मी र तालिवानबीच एक अर्काविरुद्ध आक्रमण नगर्ने समझदारी भएको थियो ।

सोही सहमतिअनुसार आज कतारको राजनधानी दोहामा शान्ति सम्झौतामा हस्ताक्षर हुन लागेको हो । शान्ति सम्झौतामा हस्ताक्षर भएपछि अफगानिस्तानमा १८ वर्ष चार महिना लामो युद्ध अन्त्य हुनेछ ।

अमेरिकाले अफगानिस्तान सरकारलाई सघाउँदै तालिवान लडाकुविरुद्ध आक्रमण गर्दै आएको थियो ।

त्यसोत अमेरिकाले तालिवानसँग शान्ति सम्झौताको लागि पटक–पटक प्रयास गर्दै आएको थियो । अफगानिस्तानमा सन् २००१, सेप्टेम्बर ११ देखि अमेरिका–तालिवानबीच युद्ध शुरु भएको थियो । यो अवधिमा ठूलो संख्यामा अफगान नागरिक, आतंकवादी लडाकु र सरकारी फौजको मृत्यु भएको छ ।

सन् २०१८ को सेप्टेम्बरमा अमेरिकी विदेशमन्त्री पाइक पोम्पेओले कूटनीतिज्ञ जालमेई खलिलजादलाई अफगानिस्तानको शान्ति प्रक्रियाका लागि विशेष दूत नियुक्त गरेसँगै शान्ति सम्झौताको पहल गरेको थियो ।

खलिलजादकै पहलको प्रतिफल हो यो अमेरिका–तालिवान शान्ति सम्झौता ।

यता दोहामा शान्ति सम्झौतामा हस्ताक्षर भएपछि आजै शनिबार अफगानिस्तानको राजधानी काबुलमा युद्धविरामको संयुक्त घोषणा गरिने भएको छ ।

संयुक्त घोषणा सभामा अमेरिकी रक्षामन्त्री मार्क एस्पर, उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का महासचिव जिन्स स्टेलनबर्ग, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलगायत विभिन्न देशका प्रतिनिधिहरुको सहभागीता रहने छ ।

घोषणासभापछि मात्र अफगान राष्ट्रपति घानीले पद तथा गोपनियताको सपथ ग्रहण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्