प्रदेश १ को नाम र राजधानीको टुंगो हिउँदमा मात्रै !



विराटनगर : प्रदेश १ सरकारले नाम र राजधानीको टुंगो नलगाई प्रदेश संसदको बर्खे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सोमबार यस विषयमा मुख्यमन्त्री शेरधन राईले प्रमुख सत्तापक्ष र प्रतिपक्षी दलसँग बैठक गरी औपचारिक जानकारी गराएका छन् । 

 

नामकरण र राजधानीको प्रस्ताव आउँदो हिउँदे अधिवेशनमा लग्ने गरी चालू बर्खे अधिवेशन मंगलबार अन्त्य गर्ने सरकारले निर्णय गरेको हो । प्रमुख विपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकारका तर्फबाट आफूहरुसँग भएको छलफलमा बर्खे अधिवेशन मंगलबार अन्त्य गर्ने विषयमा मुख्यमन्त्रीले जानकारी गराएको बताए । 

 

भने,‘नामकरण र राजधानीलाई थाँती राखेर हिउँदे अधिवेशनमा प्रस्ताव लैजाने गरी संसद अधिवेशन अन्त्य गर्न मुख्यमन्त्रीले प्रस्ताव गर्नुभयो । हामीले पनि सहमति जनायौं ।’ 

 

कार्कीले सरकारले नाम र राजधानी जस्तो महत्वपूर्ण विषयमा प्रस्ताव ल्याई निर्णय गर्न नसक्दा जनतामा निरासा छाएको सुनाए । मंगलबारको संसद बैठकमा प्रदेश प्रमुखले पठाएको अधिवेशन अन्त्य गरिएको चिठी पढेर सुनाएपछि अधिवेशन अन्त्य हुनेछ ।

नेकपाको सोमबार नै प्रदेशसभा सचिवालयमा बसेको संसदीय दलको बैठकमा दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले संसद अधिवेशन अन्त्य गर्ने तयारी भएको विषयमा सांसदहरुलाई जानकारी गराएका थिए । 

 

बैठकमा हिउँदे अधिवेशनमा नाम तथा राजधानीको प्रस्ताव लगिने मुख्यमन्त्री राईले आश्वासन दिएका थिए । नेकपाका सांसद लक्ष्मण तिवारीका अनुसार दशैं र अरु महत्वपूर्ण पर्व नजिकिएकोले संसद लामो समयसम्म लम्ब्याउन बिजनेसको समेत अभाव छ । 

 

भने,‘नाम र राजधानी टुंगोमा नपुग्ने भएकोले पनि अधिवेशन अन्त्य गर्ने निर्णय भएको हो ।’ नेकपाको प्रमुख सचेतकमा सांसद बुद्धिकुमार राजभण्डारी र सचेतकमा सीता थेवेलाई चयन गरेको छ । यसअघि दुई दिनसम्म नेकपाको संसदीय दलको बैठक बसेर नाम र राजधानीको टुंगो लगाउने प्रयास गरेपनि सहमति जुट्न सकेन । काँग्रेसको बैठकमा पनि फरक फरक विचार आएपछि उसले समेत धारणा सार्वजनिक गरेन ।

यसैगरी संसदीय दलको विधान मस्यौदा समिति गठन भएको छ । नौ सदस्यीय समितिमा सचेतक बुद्धिकुमार राजभण्डारी, लक्ष्मण तिवारी, इन्द्रमणि पराजुली, मोहन खड्का, सीता थेवे, राजकुमार ओझा, विमल कार्की, विजय विश्वास र सरिता थापा रहेका छन् ।

 

प्रदेश–१ सरकारले लोगो बनाइ सांसदलाई वितरण गरेको छ । सोमबार सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री शेरधन राईलाई लोगो लगाई कार्यक्रमको शुभारम्भ गरे । सभामुखले प्रदेश सांसदलाई पनि लोगो वितरण गरे ।

 

लोगो मन्त्री र विपक्षी दलका नेतालाई पनि वितरण गरिएको छ । प्रदेश लोगोमा विश्वकै अग्लो हिमाल सगरमाथा, सप्तकोशी नदी, लालीगुराँस, धानको बाला, भोजपुरे खुकुरी, महिला–पुरूषको हात तथा राष्ट्रिय झण्डा अंकित छ । 

 

सभामुख भण्डारीले लोगोमा ‘कन्टेन्ट’ धेरै भएकाले डिजाइन गर्न समय लागेको बताए । लोगो कलाकार बिक्रम श्रीले डिजाइन गरेका हुन् । भने,‘अन्य प्रदेशको तुलनामा लोगो ल्याउन केही ढिलाइ भएपनि प्रदेशको पहिचान दिने आकर्षक बनाएका छौं ।’

 

प्रदेश सभा सचिवालयले सार्वजनिक सूचना प्रकाशित गरी लोगोको नमूना माग गरेको थियो । जसमा जम्मा २ वटा लोगो प्रतिस्पर्धामा आएकोमा कलाकार बिक्रमश्रीले कला भरेको लोगोलाई मान्यता दिइएको हो । 

 

प्रदेश सभाको सोमबारको बैठकमा काँग्रेस सांसद लोकप्रसाद संग्रौलाले दशैंको मुखमा सरकारले प्रदेश लोगोको शुभकामनासहित उपहार दिएको बताए । बैठकमा खेलकुद विधेयकमाथि छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्