बागलुङको मःम म्याग्दी, पवर्त र मुस्ताङसम्म



बागलुङ : भारतीय सेनाको जागीरपछि स्वेदश फर्कनुभएका रमेश खड्का पछिल्लो समय व्यवसायमा जमेका छन । दुई वर्षअघि जिल्लामै पहिलोपटक काँचो तयारी मःमको व्यवसाय शुरुआत गरेका उनले शुक्रबारदेखि ‘सुसारा बिन्स क्याफे’ सञ्चालनमा ल्याएका छन ।

बागलुङ नगरपालिका–३ का ४० वर्षीय उहाँ सेनामा २० वर्ष सेवा गरेर हवल्दार पदमा निवृत्त भएका थिए । “थप पद लिनलाई जागीर बढाउन पनि सक्थे, स्वदेश आएर पनि अरु देशमा जान सकिन्थ्यो”, उनले भने, “आफ्नै ठाउँमा बसेर केही गरौँ भन्ने सोचले व्यवसायतिर लागेँ ।”

‘सुसारा फ्रोजन मःम’ र ‘सुसारा बिन्स क्याफे’मा गरी करिब रु एक करोड लगानी भएको छ । मःम व्यवसायमा १५ र ‘क्याफे’मा पाँच जनाले रोजगारी पाएका छन् । ‘क्याफे’मा खड्कासहित उहाँका नातेदार सुशील खड्का र सागर थापाकोसमेत लगानी छ । मःम व्यवसायमा भने रमेश एक्लैको लगानी छ ।

“बागलुङमा काँचो तयारी मःमको बिक्री पहिलोपटक मैले नै शुरु गरेको हुँ”, रमेशले भने, “यहाँ बनेको मःम म्याग्दी, पवर्त र मुस्ताङसम्म समेत जान्छ ।” किमा भरेर तयार पारिएको मःमलाई विशेष रुपले ‘प्याकिङ’ गरेर बजार पठाइन्छ ।

दैनिक छ देखि ७०० पिलेटसम्म मःम बिक्री हुने गरेको रमेशको भनाइ छ । खसी–बोकाको मःम प्रतिपलेट रु १००, कुखुराको रु ६०, माछाको रु ७० र शाकाहारी मःमको रु ४५ पर्छ । छिट्टै केराको मःम पनि उत्पादन गर्ने लक्ष्य छ ।

मःमबाट मासिक करिब रु पाँच लाख बराबरको कारोवार हुने गरेको छ । मःम व्यवसायलाई कम्पनीकै रुपमा अघि बढाउने र बजार पनि विस्तार गर्ने उनकोे योजना छ । उनलाई व्यवसायमा श्रीमती रक्षाको दरिलो साथ छ । “व्यवसायबाट सन्तुष्ट छु, ठूलो मुनाफाको अपेक्षा मसँग छैन”, रमेशले भन्नुभयो ।

बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले शुक्रबार शुभारम्भ गर्नुभएको ‘क्याफे’मा चिया, कफीका साथै रेष्टुराँमा पाइने अधिकांश परिकार उपलब्ध छन् । बागलुङ बजारको केन्द्र भागमा खोलिएको ‘क्याफे’ले जिल्लामा भित्रने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उनले बताए ।

उनले विदेशबाट फर्केर आफ्नै ठाउँमा उद्यम, व्यवसाय गर्ने युवालाई राज्यले प्रोत्साहन गर्नुपर्ने धारणा राखे । “पछिल्लो समय होटल, रेष्टुराँमा लगानी बढेको छ”, अध्यक्ष राजभण्डारीले भने, “व्यापारसँगै पर्यटन प्रवद्र्धनका लागि सुखद् पक्ष हो ।”

व्यवसायसँगै गीत, सङ्गीतमा पनि क्रियाशील रमेशले ‘माछी मारन’लगायतका गीतमा स्वर दिएका छन । यहाँका पर्यटकीय गन्तव्यस्थललाई समेटेर उहाँले गाएको नयाँ गीत सार्वजनिक हुने तयारीमा छ । रासस

प्रतिक्रिया दिनुहोस्