सरकार पुस्तकमा कर लगाएर के समृद्ध नेपाल सम्भव छ ? : विद्यार्थी



काठमाडौं : सरकारले चालु आर्थिक वर्षदेखि पुस्तकको आयातमा १० प्रतिशत कर लगाउने निर्णय गरेसँगै त्यसको विरोध शुरु भएको छ ।

सरकारले चालु आर्थिक वर्षदेखि पुस्तकको आयातमा १० प्रतिशत कर लगाउने निर्णयसँगै विद्यार्थी, शिक्षक तथा आम पाठक शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन् ।

कर लगाउने निर्णय फिर्ता लिनुपर्ने माग राख्दै उनीहरूले पुस्तकमा कर लगाएर सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा साकार पार्न नसकिने बताएका छन् ।

झण्डै दुई सातादेखि उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका विद्यार्थीहरुले सरकारले निर्णय फिर्ता नलिएसम्म प्रदर्शन जारी राख्ने बताएका छन् ।

ललितपुरको पाटन दरबार स्क्वायरमा विरोध प्रदर्शनमा सहभागी विद्यार्थीहरुले सरकारले पहिलो बोल्न दिएन, लेख्न दिएन अब अहिले पठ्नै नदिने अवस्था आएको बताएका छन् ।

‘धनि व्यक्तिले पढ्नु पर्छ भन्ने मात्र छैन । नेपालमा यस्तो वर्ग पनि छ जसलाई बिहान बेलुकाको एक छाक पुर्याउन पनि गाह्ररो भइरहेको हुन्छ । यस्तो अवस्थामा सरकारले किताबमै कर लगाउँदा उनीहरुले कसरी पढ्छन् । सरकारले स्वतः नपढ भनेको हो ?’ सरकारलाई प्रश्न गर्दै विद्यार्थी तनुजा पाण्डे भनेकी छन् ।

यसैगरी अर्की विद्यार्थी रिद्धी अर्याल भन्छिन्–‘सुतिजन्य पदार्थमा कर लगाउन छुट्टै कुरा हो । कुन कुरामा कर लगाउनु पर्ने हो, कुन कुरामा नलगाउनु पर्ने हो त्यो चाहिँ सरकारले छुट्टाउन सक्नुपर्छ ।’

‘शिक्षा नैसर्गिक अधिकार हो भनेर सरकारले तोकिदिएको छ । तर, यो नैसर्गिक अधिकारबाट हामी बञ्चित भइराखेका छौ ।’ विद्यार्थी प्रनिता राई भन्छिन् ।

के भन्छन् शिक्षक
शिक्षाका कृया आचार्यले सरकारले किताबमा कर लगाउनु गलत रहेको बताएकी छन् । उनी भन्छिन्–‘शिक्षा भनेको आधारभूत शिक्षा हो भनेर संविधानमै उल्लेख छ । संविधानमा यसरी उल्लेख गर्ने । तर, अर्को तिर किताबमा कर लगाउने कुरा अलि नसुहाएको जस्तो लाग्छ । पढ्ने संस्कृति विकास हुँदैछ नेपालमा त्यो मासेर जाने भयो ।’

प्रतिक्रिया दिनुहोस्