मोरङमा ट्रक जुध्दा चालकको मृत्यु, सहचालक गम्भीर



मोरङ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी–उर्लावारी सडकखण्ड हरियाली सामुदायिक वन नजिकै भएको दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश नम्बर १–०२–००१–ख ८०९१ नम्बरको ट्रकले सोही दिशामै गइरहेको ना८ख ६७ नम्बरको ट्रकलाई ठक्कर दिँदा ट्रक चालक चितवन, भरतपुर महानगरपालिका–११ का २८ वर्षीय अजय अधिकारीको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा सोही वडाका ट्रकका सहचालक ३० वर्षीय अंकित जियन गम्भीर घाइते भएका छन्।

घाइतेको विर्तामोडस्थित बिएनसी अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालय, पथरीले जनाएको छ। प्रहरीका अनुसार घाइते सहचालकको खुट्टामा गम्भीर चोट लागेको छ।

ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय, पथरीले नियन्त्रणमा लिएको छ। बिहान करिव ६ बजे भएको उक्त दुर्घटना तीव्र गतिले भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्