धनुषामा ८ महिनामा ४० बलात्कार



जनकपुरधाम : प्रदेश २ सरकारको आधिकारिक वेवसाइट ‘ओसिएमसिएम डट पिटु डट जिओभी डट एनपि’ मा मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रमको संक्षिप्त परिचयमा लेखिएको छ,‘बालिकाहरुको आर्थिक, सामाजिक एवं शिक्षाको स्तर अत्यन्तै कमजोर रहेको सन्दर्भमा प्रदेश सरकार गठन भएपश्चात प्रदेश सरकारले “मुख्यमन्त्री बेटी पढाऊ ,बेटी बचाऊ” अभियानको घोषणा भएको छ ।

छोरीलाई विद्यालय पठाई उनीहरुको व्यक्तिगत विकासका अतिरिक्त सशक्तिकरणको माध्यमबाट लोककल्याणकारी राज्यको अवधारणा अनुरुप विभेदमुक्त सामाजिक न्याय स्थापना गर्ने सन्देश प्रवाह गरि छोरा र छोरीबीचको सामाजिक विभेद अन्त्य गर्ने यस कार्यक्रमको मुख्य उद्देश्य हो ।

तर एक पटक प्रदेश सरकारको यस “मुख्यमन्त्री बेटी पढाऊ,बेटी बचाऊ” अभियानको उद्देश्यमाथि विचार गरौं त, के प्रदेशका छोरीहरु साँच्चै सुरक्षित छन् र ?यो प्रश्न आफैमा एउटा प्रश्न बनेर सिमित भएको लाग्दैन तपाईंलाई ? सरकारले प्रदेशका छोरीलाई शिक्षा दिएर मात्रै सम्भव छ त ? उनीहरुको सुरक्षाको ग्यारेन्टी गर्ने दायित्व पनि सरकारकै होईन र ? पक्कै पनि प्रदेशका छोरीहरुको सुरक्षाको जिम्मा सरकारको पनि हो । तर प्रदेश २ को प्रमुख केन्द्रविन्दु अर्थात राजधानीमै अहिले दैनिक रुपमा बालिका बलात्कार र महिला हिंसाका घटनाहरुले विकराल रुप लिएको छ । जहाँ प्रदेशको प्रमुख प्रशासनीक केन्द्रहरु छन् त्यही ठाउँको अबस्था भयावह छ ।

विगतको तुलनामा बालिका बलात्कारका घटनाहरु अहिले दिनदिनै बढ्दै गइरहेको छ । बालिकामाथि हुने यौन दुव्र्यहार र बलात्कारका घटना बढदै जाँदा उनीहरु असुरक्षित भएका छन् । दुव्र्यहारका घटनालाई अधिकांश गाउँठाउँमै मिलाउने र प्रहरीसम्म आउँदा पनि लेनदेनमा मिलाउँदा यस्तो प्रकृतिको घटनामा बृद्धि भएको देखिएको हो ।

जिल्ला प्रही कार्यालय धनुषाको तथ्यांक हेर्ने हो भने यस जिल्लामा प्रत्येक साता कम्तिमा पनि २ वटा बलात्कारका घटनाहरु भएका छन् । चालु आर्थिक वर्षको फागुन दोस्रो सातासम्म मात्र जिल्लामा ३४ वटा जबर्जस्ती करणी र ६ वटा जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार यस जिल्लामा गत आर्थिक वर्षको तुलनामा यस वर्ष जबर्जस्ती करणीका घटनाहरु बढेका छन् । तथ्यांक अनुसार गत आर्थिक वर्षमा २० वटा जबर्जस्ती करणी र १६ वटा जर्बस्ती करणीको प्रयास भएको थियो । यस आर्थिक बर्षको ८ महिनामा यो संख्या ४० पुगेको छ ।
प्रहरीले भन्यो,‘करिब २२-२३ वटा घटनामा मिलोमतोमै शारीरिक सम्बन्ध भएपनि उमेर नपुगेकाले घटना थाहा पाएपछि हामीले जबर्जस्ती करणीको मुद्दा दर्ता गरेका छौँ ।’ बलात्कृत हुनेहरुमा अधिकांश १६ देखि ३५ वर्ष उमेर समुहका महिलाहरु रहेका छन् ।

बलात्कारका घटनाहरु बढ्नुमा सामाजिक चेतना, अपराधिक मनस्थिति, सामाजिक संजालको दुरुपयोग तथा इन्टरनेटको दुरुपयोग प्रमुख कारण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्