यि पाँच देशमा कोरोनाभाइरस नियन्त्रण गर्ने प्रयास कसरी भइरहेको छ ?



काठमाडौं : छिमेकी मुलुक चीनबाट फैलिएको नोवेल कोरोनाभाइरस हाल विश्वका ५६ देशमा फैलिएको छ ।

विश्वस्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरसको संक्रमण विश्वव्यापी रुपमा तीव्र विस्तार भइरहेको जनाएको छ । कोभिड–१९ को प्रभाव तथा जोखिमको अवस्था उच्च तहमा पुगेको डब्लुएचओको भनाइ छ ।

यसलाई नियन्त्रण गर्ने प्रयासमा चीनमा सहर नै बन्द गरिएको छ भने इटलीमा फुटबल खेल रद्द गरिएको छ ।

पाँच देशमा कोरोनाभाइरस नियन्त्रण गर्ने प्रयास कसरी भइरहेको छ ?

दक्षिण कोरिया
दक्षिण कोरियामा सोलमा रेल र बस सेवालाई भाइरसविहीन बनाइएको छ । अधिकारीहरुले सबैभन्दा उच्चस्तरको सुरक्षा जोखिम घोषणा गरेका छन् भने डाएगु शहरमा नाकमुख ढाक्ने मास्कका लागि सबैभन्दा लामो लाम लागेको छ ।

पाकिस्तान
पाकिस्तानले इरानसँगको सीमा बन्द गरेको छ । किनकी नयाँ संक्रमण देखिँदा त्यस क्षेत्रमा डर बढेको छ ।

इरान
इरानी सरकारी टिभीले मास्कहरु उत्पालन भइरहेको भिडियो देखाएको छ । इरानले कुनै बस्ती र सहरलाई क्वारन्टीन गर्ने योजना बनाएको छैन ।

यता कोरोनाभाइरसको सङ्क्रमणबाट इरानमा कम्तीमा २ सय १० जनाले ज्यान गुमाएको स्वास्थ्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् भने ६ गुणा बढी संक्रमित भएको जनाएका छन् ।

यसमध्ये एक उप–स्वाीथ्यमन्त्री समेत रहेको इरान स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इरानी अधिकारीहरूले कोभिड १९ नियन्त्रणका लागि मानिसहरूलाई घरभित्रै बस्न, अन्तरक्रिया र आवतजावत नियन्त्रण गर्न, भेलाहरूमा सहभागी नहुन र व्यक्तिगत रूपमा अपनाउनुपर्ने सावधानीका उपाय मान्न सुझाव दिइरहेका छन् ।

शनिवारबाट देशभरका विद्यालयहरूमा कम्तीमा तीन दिन बिदा दिने निर्णय भएको छ। तेहरानको नगर परिषद्का एक अधिकारीले कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या केही हप्तामा १० देखि १५ हजार पुग्ने बताएका छन् ।

इटली
युरोपमा कोरोनाभाइसरबाट सबैभन्दा बढी प्रभावित देश इटली हो । यो भाइरसका कारण फुटबल खेलहरु रद्द भएका छन् । देशको उत्तरी भागका सडकमा अवरोधहरु राखिएका छन् । त्यहाँका धेरै बस्तीहरु क्वारन्टीनमा छन् ।

चीन
चीनको वुहानमा अधिकारीहरु अझै सो भाइरसलाई फैलनबाट रोक्ने प्रयास गरिरहेका छन् । सो सहर अझै बन्द अस्वथामा रहेको छ ।

यता वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको नयाँ कोरोनाभाइरसबाट विश्वमा शुक्रबार मध्यान्नसम्ममा २ हजार ८ सय ७३ व्यक्तिको मृत्यु भएको जनाइएको छ । विश्व स्वास्थ्य संगठनले यस कोभिड–१९ भाइरसको सङ्क्रमण विश्वका ५६ देशमा फैलिएको जनाएको छ ।

विश्वभर कूल ८३ हजार ८ सय ५३ व्यक्तिमा यस भाइरसको सङ्क्रमण भएको बताएको छ । शुरुमा चीनमा मात्र सिमीत रहेको यो सङ्क्रमण दक्षिण कोरिया र इरान हुँदै विश्वमा नै फैलिन थालेकोले यस अवस्थालाई विश्व स्वास्थ्य संगठनले नै चिन्तापूर्ण अवस्थाका रुपमा लिएको जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमण विश्वका विभिन्न मुलुकमा फैलिने क्रम तीव्र हुन थालेपछि यो सङ्क्रमण फैलिएका देशबाट आफ्ना देशमा प्रवेश गर्ने तथा फर्किने नागरिकलाई विश्वका सबै देशले विमानास्थलहरुमा नै व्यापक मात्रामा निगरानी बढाएका छन् । यसबाट विश्वको बाह्य तथा आन्तरिक पर्यटकीय गतिविधिहरु प्रभावित हुने मात्र होइन कि खासमा पर्यटन कार्यक्रमहरुलाई नै उनीहरुले रोकेका छन् ।

डब्लुएचओले बिहीबार मात्रै विभिन्न सात देशमा कोभिड–१९ को सङ्क्रमणको चिन्ताजनक अवस्था देखिएको पुष्टि गरेको छ । ती बाहेकका पनि विश्वका अरु कैयौँ देशमा यो भाइरस देखिएको छ । ती देशलाई सतर्क रहन उसले चेतावनी पनि दिएको छ । ती देशबाट स्वदेश भित्रिनेलाई रोक लगाउने वा विमानस्थलमा परीक्षणमा कडाइ गर्ने सम्बन्धमा आवश्यक तयारीहरु गर्न र स्वास्थ्यका कार्यक्रमहरुमा कोरोना रोकथामका कार्यक्रमहरु पनि राख्न उक्त संगठनले सम्बद्ध देशका अधिकारीहरुलाई आग्रह पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्