जनकपुरधाम : धनुषामा दुई पक्षबीचको विवाद मिलाउन गएका एक व्यक्तिको चिरपट प्रहार गरि हत्या गरिएको छ ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर-१२ रघुनाथपुरका ५१ वर्षिय सोनेलाल कुलामीको शुक्रबार राति दुई समूहबिचको विवाद मिलाउन गएको क्रममा चिरपट प्रहार गरि हत्या गरिएको हो ।
सोही नगरपालिकास्थित कलभर्टमा शुक्रबार साँझ केही युवाहरुले बसेर अपशब्द बोलिरहेका थिए, त्यसै क्रममा उनीहरुलाई गाउँकै केही अन्य युवाले सम्झाउन गएका बेला उनीहरुबिच सामान्य भनाभन भएको थियो । अपशब्द बोल्ने युवकहरुसँग अर्को समूहको भनाभन भएपछि ती युवकहरुले आफ्नो ग्रुपका थप ७ जना बोलाएर उनीहरुमाथि प्रहार गरेका थिए ।
युवाहरूको दुई समुहबिच भइरहेको विवादलाई स्थानीय सोनेलाल कुलामीले मिलाउन खोज्दा उल्टै उनीमाथि नै ति युवाहरुले चिरपट प्रहार गरेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने क्रममा बाटोमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले बताए ।
घटना पश्चात प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सबैला नगरपालिका-१ का कपिल सदा, धर्मदेव राउत, जीतेन्द्र राउत, अशेष यादव र वडा नं.४ का मनु यादव रहेका छन् । घटनाका मुख्य आरोपी अमरजीत यादव फरार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।