नेपाल रेडक्रसको महाधिवेशन चैत्रमा



काठमाडौं : फागुन २१–२३ गते काठमाडौं हुने भनिएको नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को केन्द्रीय महाधिवेशन आगामी चैत्र अन्तिम साता हुने भएको छ ।

यहि फागुन १४ गते काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिले आगामी २३ देखि २५ गतेसम्म काठमाडौंमा नेरेसोको केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

“नेरेसोलाई कानुनी हिसावले सुदृढ र व्यवस्थित गर्न नेपाल रेडक्रस र नेपाल सरकारका विभिन्न निकायहरुको बीचमा भरहेको छलफल र पहललाई थप बल पुर्याउनुका साथै संस्थागत सकारात्मक परिणाम हासिल गर्ने सन्दर्भमा रेडक्रसको अन्तर्राष्ट्रिय महासँघ IFRC को मुख्यालय जेनेभालाई बस्तुगत जानकारी गराई संस्थागत अनुरोध गरिए अनुसार केही समय आवश्यक हुने भएका कारण महाधिवेशनको मिति एक महिना पर सारिएको हो ।” कार्यसमितिको बैठक पश्चात नेरेसो अध्यक्ष सञ्जीव थापाले जानकारी दिए ।

महासंघको टोली आगामी हप्ता नेपाल आई नेरेसोको संस्थागत सुदृढीकरणका विविध विषयमा नेपालका रेडक्रसकर्मी तथा बाह्य सान्दर्भिक पक्षसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

संस्थागत यो पहलले नेपाल रेडक्रसलाई आधारभूत सात सिद्धान्तका आधारमा मानवीय सेवालाई निरन्तरता दिन सघाउ पुर्याउने र सरकार लगायत विभिन्न निकायहरुको सुसम्बन्धलाई थप टेवा दिने अपेक्षा नेरेसोले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्