फरार प्रतिवादी पक्राउ गर्न मोरङ प्रहरीद्वारा रेकर्ड कायम 



विराटनगर : अदालतबाट कैद तथा जरिवानाको फैसला भए पनि फरार रहेका प्रतिवादीलाई पक्राउ गर्नेमा मोरङ प्रहरीले सफलता प्राप्त गरेको छ । प्रदेश १ का १४ जिल्ला मध्ये फरार प्रतिवादी पक्राउमा मोरङ प्रहरी अगाडि रहेको हो ।

प्रदेशभरीबाट पक्राउ परेका तीन सय ८२ जना फरार प्रतिवादी मध्ये मोरङबाट पक्राउ पर्नेको संख्या मात्र तीन सय २६ रहेको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका डिएसपी सिद्ध न्यौपानेले अन्य जिल्लाको तुलनामा प्रतिवादी पक्राउमा मोरङले सफलता पाएको बताए ।  उनका अनुसार पुस महिनामा मोरङबाट तीन सय २६ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

झापाबाट १९, सुनसरीबाट १२, ओखलढुंगाबाट आठ, उदयपुर र पाँचथरबाट पाँच-पाँच, ताप्लेजुङबाट तीन, संखुवासभा र तेह्रथुमबाट दुई-दुई जना पक्राउ परेका छन् । खोटाङ, इलाम, सोलुखुम्बु, धनकुटा र भोजपुरबाट पुस महिनामा फरार प्रतिवादी पक्राउ परेका छैनन् । मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठका अनुसार पुस महिनामा तीन सय २६ जना प्रतिवादी पक्राउ गर्दा ७६ वर्ष तीन महिना आठ दिन कैद र ७४ लाख ६७ हजार पाँच ९१ रुपैयाँ चार पैसा जरिवाना असुल भएको छ । 

प्रतिक्रिया दिनुहोस्