सरुवा भएर पनि सरुवापत्र पाएनन् स्वास्थ्यकर्मीले



बैतडी : संघीय र प्रदेश सरकारबीच समन्वय नहुँदा जिल्लाका स्वास्थ्यकर्मी समस्यामा परेका छन् । 

 

भदौ १७ गते जिल्लाबाट कर्मचारी सरुवा भए पनि हालसम्म उनीहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालयले सरुवापत्र उपलब्ध गराएको छैन । कार्यालयले सरुवापत्र दिन नमान्दा २२ स्वास्थ्यकर्मीलाई समस्या भएको हो । स्वास्थ्य सेवा विभागले सरुवा गरे पनि स्वास्थ्य कार्यालयले सरुवापत्र दिन नमानेको कर्मचारीको आरोप छ । 

 

‘सरुवा भए पनि अन्योलमा छौँ’, दोगडाकेदार गाउँपालिका–३ श्रीकोट स्वास्थ्यचौकीका अहेव प्रेम चन्दले भने । गाउँपालिकाले समेत सहमति दिएको अवस्थामा जिल्लाले रोकेको उहाँको गुनासो छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जगदीशचन्द्र विष्ट विभागबाट सरुवा गरिएकोबारे आधिकारिक पत्र प्राप्त नभएको बताउँछन् । भन्छन्, ‘प्रदेश ७ सरकारले सरुवापत्र नदिनु भन्ने निर्देशन दिएको छ ।’ 

 

प्रदेश ७ को सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका प्रमुख, स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बैतडीमा मात्र नभई प्रदेशभरिका सबै जिल्लाका सरुवा भएका स्वास्थ्यकर्मीलाई सरुवापत्र नदिन निर्देशन दिएको बताए ।

 

तीन हजार १७७ स्वास्थ्यकर्मीको दरबन्दी भएको प्रदेश ७ मा झण्डै २०० पद रिक्त छ । उनले भने, ‘यही प्रदेशबाट १५० स्वास्थ्यकर्मीको सरुवा गर्दा स्वास्थ्य संस्था बन्द हुन्छन् ।’ 

 

डा. अवस्थीका अनुसार संघीय सरकारले प्रदेश ७ बाट सरुवा मात्रै गरेको र अन्यत्रबाट यहाँ स्वास्थ्यकर्मी नपठाएको बताए । संघीय सरकारले अन्य प्रदेशबाट प्रदेश ७ मा स्वास्थ्यकर्मी नपठाउँदासम्म सरुवापत्र नदिइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्