को हुन् प्रचण्डलाई जुत्ता प्रहार गर्ने व्यक्ति ?



काठमाडौं : राष्ट्रिय सभा गृहमा बोल्दै गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जुम्ला स्थायी घर भएका २२ वर्षीय रतन तिरुवा रहेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् ।

आइतबार स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो ।

प्रचण्डलाई निशाना बनाएर जुत्ता प्रहार गरिएको भए पनि उनलाई जुत्ता भने लागेन ।

पक्राउ परेका रतन तिरुवाले जनयुद्धमा आफ्ना बुबा गुमाएका थिए । उनका बुबा मोहन तिरुवा २०५६/५७ मा राज्यपक्षबाट मारिएका थिए ।

रतन ललितपुरको डल्लु क्षेत्रमा बस्दै आएका थिए । उनले सुर्खेतमा अमिन पढेका थिए ।

युद्धमा बुबा गुमाएको आक्रोशमा उनले जुत्ता प्रहार गरेको हुनसक्ने बताइएको छ ।

उनी अहिले नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्