चन्दा नदिए व्यवसाय ध्वस्त पार्ने धम्की



सुर्खेतः नेपाल कम्युनिष्ट पार्टी विल्लव समूहका कार्यकर्ताको चन्दा आतंकले कर्णालीका व्यवसायी र कर्मचारी हैरान भएका छन् । चन्दा नदिए व्यवसायीलाई अपहरण लगायत भौतिक कारबाही गर्ने धम्की र कर्मचारीलाई कालोमोसो दल्ने चेतावनीका कारण आफुहरु आतंकित भएको उनिहरुले बताएका छन् ।

पार्टी कार्यक्रमको बाहानामा पैसा दिन निरन्तर फोनमार्फत धम्की दिन थालेपछि व्यवसायी र कर्मचारीहरुले प्रहरीसँग गुहार मागेका छन् ।‘पुसको पहिलो साताबाटै फोन आउन सुरु भएको थियो' एक व्यवसायीले भने, 'पार्टी कार्यक्रमको लागि रकम चाहिएको भन्दै दुई लाख चन्दा मागे ।' रकम नदिए बालबच्चा अपहरणदेखि व्यवसाय नै ध्वस्त पार्ने धम्की दिइएको उनले बताए ।

आर्थिक सहयोग नगरे जे पनि हुनसक्ने भन्दै दिइएको धम्कीको कल रेकर्ड समेत सुरक्षित रहेको उनले बताए । धम्की दिने व्यक्तीलाई रंगेहात पक्राउ गर्ने योजना बनाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।

व्यवसायीको घरबाट जबरजस्ती चन्दा अशुल गर्न गएका बेला दुईजनालाई पक्राउ गरिएको क्षेत्रीले बताए । पार्टीका भेरी ब्यूरो सदस्य गोविन्द योगी र अनेरास्ववियु क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई रंगेहात नियन्त्रणमा लिएको उनले बताए । योगी र बुढालाई प्रहरीले अपहरण र शरिर बन्धक उद्योगमा मुद्दा अगाडि बढाएको जानकारी दिएको छ । यसअघि विप्लव समूहले आफ्ना नेतालाई झुटा आरोप लगाइएको भन्दै सुर्खेत बन्द गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्