कोरोना भाइरस सङ्क्रमण ६४ मुलुकमा, करिब तीन हजारको मृत्यु



एजेन्सी : आइतबार अपरान्ह्सम्म कोरोना भाइरसको सङ्क्रमण विश्वका ६४ मुलुकमा भेटिएको छ ।

विभिन्न मुलुकका आधिकारिक स्रोतहरूबाट एएफपीले लिएको तथ्याङ्क अनुसार आइतबारसम्म विश्वभर दुई हजार ९९० जनाको यस भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ भने कूल ८७ हजार ५६५ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

शनिबार साँझ ५ बजेपछि आइतबार अपरान्ह्सम्म थप एक हजार ६४६ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ

कोभिड–१९ भनिने उक्त भाइरसको सङ्क्रमण मकाउ तथा हङकङबाहेक मुख्यभूमि चीनमा कूल ७९ हजार ८२४ जनामा पुष्टि भएको छ भने त्यहाँ कूल दुई हजार ८२४ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।

चीनमा शनिबार ५ बजेदेखि आइतबार ११ बजे (ग्रीनवीच समय) सम्ममा ५७३ जना नयाँ विरामीमा सङ्क्रमण पुष्टि भएको छ भने ३५ जनाको सङ्क्रमणपछि उपचारका क्रममा मृत्यु भएको छ ।

अहिलेसम्म चीनबाहिर कूल सात हजार ७४१ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ भने कूल १२० जनाको मृत्यु भएको छ । यद्यपि इरानबाट सरकारी अधिकारीले उपलब्ध गराएको तथ्याङ्को निकै धेरै गुणा भाइरस सङ्क्रमणका कारण मृत्यु भएको कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो समयमा चीनबाहिर करिब एक हजार ७३ नयाँ विरामीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । चीनपछि सबैभन्दा बढी प्रभावित मुलुकहरूमा दक्षिण कोरिया, इटली, इरान र जापान रहेका छन् ।

दक्षिण कोरियामा अहिलेसम्म तीन हजार ७३६ जनामा सङ्क्रमण भएको र अघिल्लो दिनभन्दा ५८६ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने कूल १८ जनाको मृत्यु भएको छ ।

इटलीमा कूल एक हजार १२८ जनामा सङ्क्रमण भएको र अघिल्लो दिनभन्दा थप सङ्क्रमण नभएको र कूल २९ जनाको मृत्यु भएको बताइएको छ ।

त्यस्तै इरानमा चीनबाहिर सबैभन्दा बढी अर्थात् कूल ५४ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या आइतबारसम्म थप ३८५ पुगेको र इरानमा कूल ९७८ व्यक्तिले सङ्क्रमणपछि उपचार सेवा लिइरहेको बताइएको छ ।

जापानमा कूल २३९ व्यक्ति सङ्क्रमित भई उपचार गरिरहेका बताइएको छ भने कूल ११ जनाको मृत्यु भएको छ । जापानमा विगत २४ घण्टामा थप नौजनामा सङ्क्रमणको पुष्टि भएको छ । जापानको अर्को छुट्टै स्थान जहाँ डायमण्ड प्रिन्सिेस नामक योकोहामा बन्दरगाह नजिकै रोकिएको जहाजमा ७०० जनामा सङ्क्रमण भएको अधिकारीहरूले बताएका छन् । –रासस

प्रतिक्रिया दिनुहोस्