सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात (फोटोफिचर) 



हुम्ला : सुदूरपश्चिमका पहाडी जिल्लामा सोमबार रातिदेखि हिमपात भइरहेको छ । डडेल्धुरा सहित सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लामा हिमपातका कारण अत्याधिक चिसो समेत बढेको छ । पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला लगायतका जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको हो ।

यसपटकसँगै पुसको पहिला सातादेखि माघ दोस्रो सातासम्म सुदूरपश्चिमका पहाडी जिल्लामा तीन पटक हिमपात भइसकेको छ । पुसमा मात्र दुई पटक हिमपात भएको थियो ।

हिमपातले जिल्लाको जनजीवन कष्टकर बनेको छ । सोमबार मध्य रातिदेखिको हिमपातसँगै भारी वर्षाका कारण बाजुराका लेकाली बस्ती र हिमाल सेताम्य भएका छन् । सोमबार दिनभर घाम लागे पनि रातिदेखि भने अकस्मात् हिमपात हुन सुरु भएको हो ।

मध्यरातबाट एकाएक मौसम बदली भएर हिमपात भएको हो । जिल्लाका हिमाली गाउँपालिकाको रुगिन, बिच्छया, गौमुल गाउँपालिकाको दहकोट, मानाकोट, खप्तड छेडेदह गाउँपालिकाको काँडा, आटीचौर, त्रिवेणी नगरपालिकाको कैलाशमाडौं, बूढीनन्दा नगरपालिकाको पाण्डुसैन, बडीमालिकाको डम्कने, रजातोली, जुगाडासहितका दर्जन बढी स्थानीय तहका लेकाली भेगमा हिमपात भएको छ ।

सदरमुकाम मार्तडीलगायतका तल्लो क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ भने सदरमुकाम नजिकैका बस्तीमा हिमपात भएको छ । हिमपात हुने क्रम अझै जारी छ । हिमपातले जनजीवन निकै कष्टकर बनेको स्थानीयवासीले बताएका छन् । सदरमुकाम मार्तडीका पसलहरू फाट्टफुट्ट खुलेका छन् ।

सदरमुकाम आसपासको जङ्गलमा झन्डै आधा फिट हिउँ जमेको छ । हिमपातले सबैभन्दा जिल्लाको उच्च भेगको जनजीवन प्रभावित बनेको छ भने पोरखे लेकमा धेरै हिउँ परेका कारण मार्तडी कोल्टी सडकमा चल्ने ट्याक्टर र जीप सेवासमेत बन्द भएको छ । 

हिमपातले जनजीवन कष्टकर बनेपनि बालीनाली राम्रो हुने भएकाले स्थानीय खुसी भएका छन् ।

उता, भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ। हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ ।

हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या भएको छ । अकस्मात हिमपात हुन थालेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत अप्ठेरो भएको छ ।

हाल सिमकोटमा झन्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ । हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा पुग्नुको साथै आवतजावतसमेत बन्द भएको छ ।

हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोटलगायतका गाउँमा आवतजावत बन्द भएको छ । हिमपातका कारण सिमकोटलगायत उत्तरीे नाम्खा गाउँपालिकाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कनसमेत समस्या परेको छ । मुचुमा अहिलेसम्म झन्डै दुई फिट जति हिउँ जमेको छ ।

प्रतिक्रिया दिनुहोस्