लुटेरा समूहको आक्रमणमा कम्तीमा ५० व्यक्तिको मृत्यु



एजेन्सी : उत्तरी नाइजेरियाको विभिन्न गाउँमा भएका लुटेरा समूहको आक्रमणहरूमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

लुटेराहरूले चौपाया चोरी गर्ने र अपहरण गर्ने क्रममा गाउँलेहरूले प्रतिकारको प्रयास गर्दा उनीहरूमाथि आक्रमण भएको नाइजेरियाको प्रहरीले बताएको छ ।

स्रोतहरूका अनुसार लुटेराको करिब १०० जनाको सशस्त्र जत्थाले कादुना राज्यको केरावा, जारेयावा र मिन्दा गाउमा आइतबार बिहान मस्जीदमा प्रार्थना गर्न पुगेका क्रिश्चियन धर्मावलम्बीलाई गोली हानी हत्या गरेका थिए ।

“गाउँलेको हत्यापछि गाउमा पसी उनीहरूका चौपाया लुटेका थिए भने केटाकेटीलाई अपहरण गरी लगेका थिए,” उक्त क्षेत्रबाट नाइजेरियाको संसदमा प्रतिनिधित्व गर्ने सांसद जैयद इब्राहिमले बताए ।

लुटेराहरूले स्थानीय दर्जनौँ घरहरूमा आगजनीसमेत गरेको पनि बताइएको छ । नाइजेरियाको सेनाले लुटेरा लुकेर बसेका स्थानमा गाउलेहरूको सहयोगमा गरेको आक्रमणको बदलामा गाउँलेहरूको निर्मम हत्या भएको स्थानीय प्रशासक दायेबु केरावाले एएफपीलाई बताए ।

“लुटेराहरूले स्थानीयलाई उनीहरू बस्ने इलाकाबारे सेनालाई सूचना दिएको भन्दै गोली हानेका घटनाबाट उम्किन सफल एक घाइतेले बताएका छन्,” केरावाले भने ।

केरावाले भने, “हामीले शनिबार ५१ जनाको शनाखत गरेका छौँ । घटनामा घाइते भएका दर्जनौँ मानिसलाई अस्पतालमा भर्ना गरिएको र केही घाइतेको अझै चिन्ताजनक अवस्था रहेकाले मृतक सङ्ख्या बढ्नसक्ने देखिएको छ ।”

कादुनाको प्रहरी प्रवक्ता मोहम्मद जालिजले घटनाबारे अनुसनधान सुरू भएको बताएका छन् । नाइजेरियामा पछिल्ला केही वर्षमा आपराधिक समूहहरूको आक्रमणमा परी गाउँलेहरूको मृत्यु हुने क्रम बढेको छ ।

नाइजेरियामा लुटेराहरूले चौपाया तथा गाउलेको सम्पत्ती लुट्ने र अपहरण गर्ने क्रममा वर्षेनी सयौँ गाउँलेको हत्या गर्ने र गाउँमा आगो लगाइदिने घटना भइरहने गर्छन् । –रासस

प्रतिक्रिया दिनुहोस्