टावरको क्षमता वृद्धिपछि नरैनापुरमा चौबिसै घण्टा मोबाइल नेटवर्क



बाँके : छिन/छिनमा नेटवर्क जाने समस्याबाट ग्रसित बाँके नरैनापुरबासीले अब चौबिसै घण्टा मोबाइल नेटवर्कको सुविधा पाउने भएका छन् । नेपाल टेलिकमले त्यसक्षेत्रमा सीमित ब्याट्री ब्याकअपका कारण आउने समस्या सुधार गरेको छ । 

टेलिकमले आफ्नो सेवामा सुधार ल्याएसँगै अब चौबिसै घण्टा मोबाइलको सिग्नलले काम गर्ने भएको हो । नेपाल टेलिकमले नरैनापुर क्षेत्रमा गुणस्तरीय सामग्री जडान गर्नुका साथै पहिले स्थापना गरिएका टावरहरूलाई थप प्रभावकारी समेत बनाएको छ । 

प्राविधिक टोलीले अध्ययन गरेर पहिचान गरेका समस्या समाधान गरिएको नेपाल टेलिकम मध्यपश्चिममाञ्चल क्षेत्रीय निर्देशनालय नेपालगन्जका प्राविधिक प्रमुख शिव खनालले बताए । ‘प्राविधिक समस्या समाधान भएसँगै अहिले त्यहाँबाट गुनासो आउने कम भएको छ’ उनले भने, ‘अझै पनि टेलिकमको सेवालाई प्रभावकारी बनाउन लागिपरेका छौँ ।’ 

उनले विगतमा पावर ब्याक अप नहुँदा नेटवर्कमा समस्या हुँदै आएकोमा अहिले २४ सै घण्टा नेटवर्क नजाने गरी क्षमता वृद्वि गरिएको जानकारी दिए । टावर सञ्चालनको लागि सबै स्थानमा टेलिकमले सोलार पावरको क्षमता बढाएको छ । 

नेपालगन्ज देखि नरैनापुरसम्म फाइबर मार्फत टेलिफोन र तीव्र गतिको इन्टरनेट पु¥याउने प्रक्रिया पनि अगाडि बढिरहेको टेलिकम कार्यालय नेपालगन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्