पुराण सुन्न गएकी वृद्धाको लडेर ज्यान गयो



विराटनगर : खोटाङको रुपाकोट मझुवागढी गाउँपालिका–८ स्थित आफन्तकोमा गएकी एक वृद्धाकाे लडेर मृत्यु भएकाे छ । घरकाे बरन्डाबाट लडेर ७७ वर्षीया टीकाकुमारी खत्रीको ज्यान गएको हाे । मंगलबार बिहान उज्यालो नहुँदै आफन्तको घरको बरन्डाबाट लडेर वृद्धाको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

आफन्त मकरबहादुर चौहानको घरमा सप्ताह पुराणमा गएकी खोटाङ साकेला गाउँपालिका ५ का कृष्णबहादुर खत्रीकी पत्नी टीकाकुमारीको लडेर मृत्यु भएको हो । बिहान १ बजे बाहिर निस्कने क्रममा घरको १ तलामाथिको बरन्डाबाट लडेर उनी गम्भीर घाइते भएकी थिइन् । 

प्रहरीका अनुसार घाइते अवस्थाकी उनलाई उपचारका लागि लैजान नपाउँदै मृत्यु भएको हो । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्