अस्तव्यस्त जनकपुरको ट्राफिक व्यवस्थापन : फुटपाथमा व्यापार, ट्राफिक मुकदर्शक



जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका भित्र करोडौं खर्चेर निर्माण गरिएको सडक ट्राफिक व्यवस्थापनको कमजोरीका कारण अस्तव्यस्त बनेको छ । यसले शहरको सौन्दर्यमा ह्रास त ल्याएको छ नै उपमहानगरवासीमा समेत हिनताबोध हुन थालेको छ ।

बजार क्षेत्रमा खुल्ला पार्किङ्ग गर्ने स्थानको अभावले ट्राफिक व्यवस्थापन हुन नसक्दा समस्या भएको हो । नगर क्षेत्रका मूख्य सडकदेखि मुख्य बजार क्षेत्रका सडकहरुमा अव्यवस्थित सवारीसाधन पार्किङ्ग गर्ने प्रचलनका कारण नगर क्षेत्र कुरुप देखिन थालेको छ । ट्राफिक नियमबारे चेतनाको अभाव, सडकपेटीमा निर्माण सामग्री राख्नुजस्ता कारणले शहर भित्र ट्राफिक व्यवस्थापन चूनौतीपूर्ण बन्दै गएको देखिएको छ ।

सडकपेटी र सडक छेउ अहिले सवारीसाधन पार्किङ्ग स्थल र फुटपाथ व्यवसाय गर्ने थलो नै बनेको देखिन्छ । विषेश गरी प्रादेशिक अस्पतालको क्षेत्रमा बाटो बन्द हुनेगरी ठेलामा फलफुल बेच्नेहरु बीच प्रतिष्पर्धा नै हुने गरेको देखिएको छ । मुख्य बजार क्षेत्रमा अव्यवस्थित सवारीसाधन पार्किङ्ग हुँदै आएको छ ।

नगर क्षेत्र भित्र छाडा चौपाय खुला रुपमा छाडिएकाले बजार क्षेत्र एवं मुख्य सडक क्षेत्रमा सवारी आवगमन प्रभावित हुने गरेको छ । यसले दुर्घटनालाई समेत निम्त्याएको देखिएको छ । छाडा चौपायालाई यसअघि नियन्त्रणमा राखेर उपमहानगरले काञ्जी हाउसमा राखेपनि अहिले आएर फेरि त्यसको निरन्तरता भङ्ग भएको छ ।

निषेधित क्षेत्रमा पनि पार्किङ्ग
ट्राफिक प्रहरीले पार्किङ्ग निषेध गरेको स्थानमा नै सवारी धनीहरुले आफ्ना सवारी साधन पार्किङ्ग गर्ने प्रचलन समेत बढेको देखिन्छ । पार्किङ्ग निषेधित क्षेत्रमा अटोरिक्सा,मोटरसाइकल जस्ता सवारी साधन पार्किङ्ग गरिएको भएपनि ट्राफिक प्रहरी भने मुकदर्शक भएर देखेपनि नदेखे जस्तै गरी बस्ने गरेको छ । ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा ध्यान पुर्याउनुपर्ने आवश्यकता रहेपनि उनीहरु सवारी चालकको बिलबुक र लाइसेन्स चेकजाँचमा मात्रै व्यस्त देखिएका हुन्छन् । स्थानीय रोशन सिंहले भने,‘ट्राफिकले नगरभित्र व्यवस्थापनको काम छाडेर साँझ बिहान जनकपुर बाहिरका निकासद्धारहरुमा मोटरसाइकल चालकहरुसँग जरिवाना असुल्न मात्र व्यस्त हुन्छन् । उनीहरुको काम भनेको त्यति मात्रै हो ।’

ट्राफिक प्रहरी मुखदर्शक
नगर क्षेत्र भित्रका स्थानहरुमा पार्किङ्ग निषेधित गरिएका स्थलमा सवारी साधन रोक्ने सवारी धनीलाई कार्वाही गर्न ट्राफिक प्रहरी असफल देखिएको छ । ट्राफिक प्रहरीको आँखा अगाडी निषेधित क्षेत्रमा सवारी साधन पार्किङ्ग गरिएपनि उनीहरुले खासै चासो दिने गरेको पाइदैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक परशुराम घिमिरेले जनकपुरधाम उपमहानगरपालिका कार्यालय र ट्राफिकबिच समन्वय र जनशक्ति अभावका कारण नगरभित्र ट्राफिक व्यवस्थापन अहिले कमजोर देखिएको स्वीकार गरेका छन् । उनले भने,‘फुटपाथ व्यापारीलाई नियन्त्रणमा लिएर कारवाही गर्ने ट्राफिकको दायर भित्र छैन् । त्यो काम उपमहानगरको हो । तर उपमहानगरले हामीसँग सहकार्यमा कमजोरी देखाएको छ ।’ ८० जना जनशक्ति हुनुपर्नेमा ५० जनाले हामी जसोतसो धानिरहेका छौं,उनले भने–हाम्रो पनि मजबुरी छ ।’

प्रतिक्रिया दिनुहोस्