नेपाली बजारमा मास्क अभाव : उत्पादन शून्य, सरकार मौन !



काठमाडौं : कोरोना (कोभिड १९) को आतंकले विश्व आतंकित छ । आतंकित नहोस् पनि कसरी ३ हजारभन्दा बढिको ज्यान गइसकेको छ भने ८९ हजारभन्दा बढिमा कोरोना संक्रमण भेटिएको छ । चीन वुहान प्रान्तबाट फैलिएको कोरोनाभाइरस विश्वकै लागि ठूलो चूनौती बनेको छ । ७३ देशमा फैलिसकेको यो महामारी रोक्न धेरै देशले प्रयास गरिरहेको भएपनि उलेख्य असफल हुन सकेको छैन । नेपाल सरकारले पनि यस आतंकलाई गम्भीर रुपमा लिएको छ ।

यो भाइरस नेपालमा फैलिनबाट रोक्न सरकारले विभिन्न निर्णयहरु सँगै सचेतना कार्यक्रमहरु गरिरहेको छ । सरकारले कोरोनाबारे निर्णय धेरै गरेको छ । तर, यसको गृहकार्य भने अनुसार हुन सकेको छैन । नेपालमा कोरोना महामारीको रुपमा फैलिन नदिन उच्च सतर्कता अपनाउन जरुरी छ ।

त्यसोत विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) नेपाललाई कोरोनाको उच्च जोखिमको सूचिमा राखेको छ । नेपाल लगायत दक्षिण एसियाली देशहरु कोरोनाको उच्च जोखिममा रहेको डब्लुएचओले जनाएको छ ।

कोरोनाभाइर शुरु भएको डेढ महिनापछि डब्लुएचओले नेपाल लगायतका देशहरुलाई ‘कोरोनाको उच्च जोखिम भएको’ भनिरहेको छ । नेपाल लगायतका देशहरुलाई उच्च जोखिममा राख्नुको कारण दिँदै डब्लुएचओले भनेको थियो, ‘थोरै जमीनमा धेरै जनसङ्ख्या, अव्यस्थित स्वास्थ्य सेवा र कमजोर जनचेतना ।’

डब्लुएचओले भनेझैं नेपालमा कोरोनाको महामारी फैलियो भने न त आइसोलेसनका लागि अस्पतालमा बेड तयार छ, न त क्वारेण्टाइनस्थल नै । यही डर बोकेका नेपालका स्वास्थ्यकर्मीहरु ‘सरकारको कमजोर तयारीका बाबजुद स्वास्थ्यसेवामा खटिँदा ज्यान नै जोखिम होला कि भन्ने डर भइसक्यो’ भनिरहेका छन् ।

‘एकमात्र प्रयोगशालामा पनि पर्याप्त किट नहुनु, स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका लागि मास्क, चस्मा र गाउनलगायतका उपकरणहरु नहुनु र, अस्पतालमा आइसोलेसनका लागि बेडको अभाव हुनु स्वास्थ्यकर्मी कोरोनाबाट डराउनुजस्ता कारणहरु हुन् ।

नेपालमा कोरोनाको महामारी नफैलिए पनि काठमाडौं उपत्यकामा मास्कको हाहाकार शुरु भइसकेको छ । बजारमा माक्स सकिएको भन्दै व्यापारीले साधारण मूल्यभन्दा ८ देखि १० गुणा बढी मूल्य उपभोक्तासँग लिइरहेका छन् ।

माक्स अभाव
बालाजु बस्ने उर्मिला महर्जन माक्स किन्न नजिकैको फार्मेसि गइन् । त्यहाँ काम गर्ने कर्मचारीले उनलाई माक्स नभएको बताए । उनले भनिन्–‘माक्स छैन भनेपछि म अर्को फार्मेसि गए, त्यहा पनि छैन भन्यो । त्यसपछि त्यहिबाटो भएर फर्कदै थिए । शुरुमा सोधेको फार्मेसिको कर्मचारीले बोलाएर भन्यो । खासमा मास्क त पाइन्छ तर एउटाको २५ रुपैयाँ पर्छ भन्यो । त्यसपछि म माक्स नै नकिनि कोठा फर्किए।’ यसरी व्यापारिले कालो बजारी गरिरहेका छन् । तर, सरकार कानमा तेल हालेर बसिरहेको छ । यस्तो समस्या परेको बेलामा त झन सहज रुपमा मास्क उपलब्ध गराउनु पर्ने हो’ उनी भन्छिन् ।

यहिले मास्कको चरम अभाव छ । भएका पनि व्यापारिहरुले कालोबजारी गरिरहका छन् । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि अहिले त्यसैको वुहानमा नेपाली बजारमा मास्कको चरम अभाव भएको हो । किन्ने नै भए ‘ब्ल्याक मार्केट’मा मात्र पाइन्छ ।

औषधि व्यवसायीहरुका अनुसार बजारमा पाइने विभिन्न थरीका मास्कमध्ये सबैजसो मास्कको अभाव छ । नेपालमै बन्ने कपडाको साधारण मास्कदेखि पेपर मास्क र विदेशबाट आयात हुने प्रोटेक्टिभ एवं मेडिकल मास्कसम्म सबैखाले माक्सको अभाव देखिएको औषधि व्यवसायी संघले जनाएको छ ।

औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठका अनुसार ९५ प्रतिशत मास्क भारत र चीनबाट आउँछ । उनी भन्छन्–‘भारत र चीनबाट अहिले मास्कको आयात ठप्प छ । नेपालमा भएका मास्क उत्पादन गर्ने उद्योगबाट पनि उत्पादन हुन छाड्यो । मास्क उत्पादन गर्ने कच्चा पदार्थ पनि चीन र भारत बाटै आउने हो। त्यो पनि बन्द भएपछि अहिले उत्पादन बन्द भएको सूचना आएको छ ।’

मास्क उत्पादन बढाउन सरकारसँग छलफल भइरहेको उनको भनाइ छ ।

उनी भन्छन्–‘संकटलाई मौका बनाएर कमाउ धन्दामा कोही पनि लाग्नुहुँदैन, कालोबजारी गरेमा संघको सदस्यता खारेज गर्छौं । हामीले व्यापारीलाई कालोबजारी नगर्न भनेका छौं ।’

फुटपाथमा बेचिने कपडाको मास्क पनि हत्तपत्त भेटिन छाडेको छ । होलसेलबाटै महंगोमा आएको दाबी साना ब्यापारीले गरिरहेका छन् भने होलसेलरहरुले मास्क नै मौज्दातमा नरहेको दाबी गरिरहेका छन् ।

चीनबाट मास्क आउन छाडेका अवस्थामा भारतबाट आउने मास्क पनि रोकिएपछि मास्कको मूल्य बजारमा आफूखुसी निर्धारण हुँदैछ । प्रतिगोटा २ सय ५० रुपैयाँमा बिक्री हुने प्रोटेक्टिभ मास्क (एन ९५)को मूल्य अहिले १ हजारभन्दा बढि पुगेको ब्यापारीहरु बताउछन् । ५ रुपैयाँ प्रतिगोटामा बिक्ने पेपर मास्क २५ रुपैयाँभन्दा बढीमा बिक्री वितरण भइरहेको छ ।

कतिपयले कालोबजारी गरेको सूचना आएको भन्दै उनले आफ्ना सदस्यहरुलाई त्यसो नगर्न आग्रह गरिएको पनि उनले बताए । औषधि व्यवसायी संघका अध्यक्ष श्रेष्ठका अनुसार ९५ प्रतिशत मास्क भारत र चीनबाट आउँछ । ५ प्रतिशत हाराहरीको मास्क मात्रै नेपालमा उत्पादन हुन्छ ।

मौन छ सरकार
मास्कमा कालोबजारी मौलाइरहँदा सरकार भने कानमा तेल हालेर बसेको छ ।

विश्वमा कोरोनाको सङ्क्रमण बढेपछि यसअघि बजारमा सजिलै पाइने मास्कको अभाव र मूल्य वृद्धि भएको हो । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल एकै व्यक्तिलाई ठूलो संख्यामा मास्क नबेच्न मेडिकलहरुलाई भनिएको बताउँछन । तर, कालोजारी गरेको भए त्यसको नियन्त्रण वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गर्नुपर्ने उनको भनाइ छ ।

औषधि व्यवस्था विभागमा पनि दोब्बर मूल्य लिएको गुनासो आएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अगुवाइमा अनुगमन, निरीक्षण गरिएको औषधि व्यवस्था विभागका महानिर्देशक ढकालले बताए ।

‘हामीले उपभोक्ता हित संरक्षण विभागलाई अनुरोध गरेका छौं,’ ढकालले भने–‘विभागले गर्ने अनुगमनमा हामीले पनि सघाएका छौं । मास्कको मूल्य वृद्धिमा केही व्यक्तिको गुनासो आएपछि हामीले निरीक्षण गर्यो । केही व्यक्तिले कालो बजारी गरेका रहेछन् । उनीहरूलाई हामीले कारबाहि गर्यो । अब त्यस्तो गर्दैनन्, भन्ने सोचेका छौँ । उद्योग मन्त्रालयले मास्क उत्पादन गर्न निर्देशन दिइसकेको छ । अभाव नै भए सरकारले अन्यन्त्रबाट पनि ल्याउने छ। यसमा आक्तिहाल्नु पर्ने अवस्था छैन ।’

नेपाली उत्पादन कति ?
अहिले नेपालमा दुई उद्योगले मात्र मास्क उत्पादन गरिरहेका छन् । काठमाडौंको बौद्धमा नवीन श्रेष्ठले हालै पेपर मास्क उद्योग सञ्चालनमा ल्याएका छन् । उनको उद्योगले दैनिक २ हजारदेखि ३ हजार थान मास्क उत्पादन गर्छ । अर्का उद्योगी खडानन्द पाण्डेले रूपन्देही बुटवलमा दुई वर्षदेखि कपडाको कटन मास्क बनाइरहेका छन् । उनको उद्योगले अहिले दैनिक आठ सय थान मास्क उत्पादन गर्छ । तिनले यहाँको माग भने धान्न सकेका छैनन् । हाल भएको मास्कको अभावबाट मुक्त हुन अन्य देशबाट आयात गर्ने विषयमा उद्योग मन्त्रालय र स्वास्थ्य जनसंख्या मन्त्रालयसँग छलफल गर्ने तयारी रहेको ढकालले बताए । उनले नेपालमा मास्क उत्पादन गर्ने उद्योगहरूलाई उत्पादन बढाउन पनि आग्रह गर्ने बताए ।

कस्तो मास्क उत्तम ?
चिकित्सकका अनुसार बजारमा पाइने कम गुणस्तरका कपडाका मास्कले धूलोका ठूला कण मात्र रोक्छन् । सबै प्रकारको वायुप्रदूषण छेक्न सक्दैनन् । बरु डाक्टरले प्रयोग गर्ने ‘सर्जिकल मास्क‘ प्रदूषण र किटाणु छेक्न निकै बढी प्रभावकारी हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्