अख्तियार प्रमुखमा सिफारिस घिमिरेमाथिको सुनुवाइ बिहीबार



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेको संसदीय सुनुवाइ बिहीबार हुने भएको छ । संसदीय विषेश सुनुवाइ समितिको मंगलाबार बसेको बैठकले घिमिरेलाई बिहीबार दिउँसो १ बजे सुनुवाइका लागि बोलाएको हो ।

 

घिमिरेविरुद्ध हालसम्म समितिमा कुनै पनि उजुरी नपरेकाले समितिले उनलाई सीधै सुनुवाइका लागि बोलाएको हो ।

 

संसदीय सुनुवाइ विशेष समितिबाट उनको नाम अनुमोदलन भए समितिले त्यसको जानकारी संवैधानिक परिषद्लाई गराउनेछ । संवैधानिक परिषद्ले राष्ट्रपतिसमक्ष त्यसको जानकारी गराएपछि राष्ट्रपतिबाट प्रमुख आयुक्त नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

 

गत भदौ २० गते संवैधानिक परिषद्को बैठकले अख्तियार प्रमुख आयुक्तमा घिमिरेलाई सिफारिस गरेको थियो ।

 

प्रमुख आयुक्त सिफारिस घिमिरे गत फागुनदेखि आयोगको कार्यवाहक प्रमुख थिए । तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यात गत माघ मसान्तमा सेवानिवृत्त भएयता अख्तियार नेतृत्वविहीन थियो ।

 

नेपालको संविधानको धारा २३८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त र अन्य चार जना आयुक्त रहने व्यवस्था छ । प्रमुख आयुक्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्यक्ष भई काम गर्ने संवैधानिक व्यवस्था छ ।

 

राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख आयुक्त र आयुक्तको नियुक्ति गर्ने र उनीहरूको पदावधि नियुक्तिको मितिले ६ वर्षको हुने व्यवस्था छ । संघीय कानुनबमोजिम संसदीय सुनुवाइ भएपछि सिफारिस भएका पदाधिकारी राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ । 

 

संविधानको धारा २९२ उपधारा १ मा संविधानबमोजिम संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनुअघि संघीय कानुनबमोजिम संसदीय सुनुवाइ हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्