गुटले ग्रस्त नेकपाको एकता प्रक्रिया थप जटिल बन्दै



काठमाडाैं : पार्टीभित्रको आन्तरिक विवाद टुंगो लगाउन भन्दै सोमबार बसेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बिनाकुनै निश्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठक पार्टी विवादमा भन्दा नेताहरुको विदेश भ्रमणको ब्रिफिङमा केन्द्रित बन्यो ।

 

पार्टीभित्रको असन्तुष्टिका बारेमा बैठकमा छलफल गर्ने तयारी भए पनि बैठक रिर्पोटिङमा केन्द्रित भएको हो । तर, बैठकले आगामी बैठकका लागि कार्यसूची तयार गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सोमबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालको असहमति पत्र पेश भएको छ । यो सँगै नेकपाभित्रको विवादले औपचारिकता पाएको छ ।

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चुलिने क्रम जारी छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको भावनाविपरीत पार्टी एकलौटि ढंगले अगाडि बढ्न खोजेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले लिखित रुपमै फरक मत राखेपछि विवादले उग्र रुप लिएको हो ।

 

विवाद चुलिँदै गएपछि सांगठानिक एकताको प्रक्रियाले गति लिन सकेको छैन् । असोज ५ गते सचिवालयको बैठकले प्रदेशको इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिवको टुंगो लगाएपछि नेकपाभित्र विवाद शुरु भएको छ । तीन महिनाभित्र पार्टीको सांगठनिक एकता प्रक्रिया टुंगो लगाउने घोषणा गरेपनि चार महिना बितिसक्दा समेत एकताको सुरुवात हुन सकेको छैन् ।

 

पार्टी एकताको क्रममा पूर्वएमाले र पूर्वमाओवादी केन्द्र कसले नेतृत्व लिने रस्साकस्सी चलेको छ भने दुई पार्टीभित्र रहेको गुटको कारण पनि एकता प्रक्रिया जटिल बन्दै गएको नेकपाका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्