मेराे कारणले कसैलाई खुसी मिल्छ भने मलाई त्यसैमा आनन्द लाग्छ : श्वेता खड्का



काठमाडाैं : पछिल्लो समय फिल्मभन्दा व्यवसायमा बढी सक्रिय देखिन्छन् श्वेता खड्का। त्यसो त उनी फिल्म क्षेत्रमा आउनुभन्दा अघि नै व्यावसायिक थिइन्। हाँसी देऊ एक फेर, श्रीमान् श्रीमती, कहाँ भेटिएलाजस्ता फिल्मार्फत सबैको मनमा बस्न सफल स्वेताले कान्छीमार्फत फिल्म निर्माणको क्षेत्रमा पनि हात हालिन् भने आफ्नो र आफ्नो अभिनेता पति स्व. श्रीकृष्ण श्रेष्ठको नाममा स्वेता श्री फाउन्डेसन स्थापित गरी त्यसमार्फत सरकारसँग सहकार्य गर्दै २०७२ सालको भूकम्पपछि टहरामा जीवन गुजारिरहेका सिन्धुपाल्चोकको ठूलो सिरुवारीस्थित माझी समुदायका निम्ति ५३ घरसहितको बस्ती निर्माण कार्यको अन्तिम चरणमा जुटिरहेकी छन्। अभिनय, फिल्म निर्माण र विभिन्न व्यवसायसँगै सामाजिक कार्यमा जुटिरहेकी स्वेतासँग नेपाल समाचारपत्रकी संवाददाता रश्मी थापाले गरेको कुराकानीको सम्पादित अंश :-

हाल के गर्दै हुनुहुन्छ ?

व्यवसायहरू हेरिरहेकी छु। हालै मात्र एलिमेन्टस रेस्टुरेस्ट लाउन्ज एन्ड बार सञ्चालनमा ल्याएकी छु। पहिलेदेखि नै विभिन्न व्यवसायमा आबद्ध भएका कारण धेरै व्यावसायिक भेटघाट गर्नुपर्ने हुँदा आफ्ना लागि पनि सजिलो हुन्छ भनेर एलिमेन्टको शुरुआत गरेकी हुँ। सायद, सबैको मायाले होला ओपनिङ भएको केही समयमै राम्रो भइरहेको छ। अब ग्रान्ड ओपनिङका लागि तयारीमा जुटिरहेकी छु। साथै, सिन्धुपाल्चोकमा निर्माणाधीन माझी बस्तीको बाटोलगायत विभिन्न कामहरू भइरहेको छ, त्यसको निर्माण सम्पन्न गर्नका लागि विभिन्न कार्यक्रममा हिँडिरहेकी छु।

कुन–कुन व्यवसायमा सक्रिय हुनुहुन्छ ?

एक दशकदेखि सञ्चालन भइरहेको एमआरएस इन्जिनियर कम्पनी, हिमालयन जाभा दरबारमार्ग तथा बालुवाटरमार्फत हस्पिटालिटी सेक्टरमा काम गरिरहेकी छु। साथै, रियल स्टेटसम्बन्धी कामहरू गरिरहेकी छु।

व्यवसायमा कसरी लाग्नुभयो ?

म फिल्म क्षेत्रमा आउनुअघि नै व्यवसायमा थिएँ। कलेज पढ्दै गर्दा एक इन्टेरियर इन्जिजियरिङ कम्पनीमा जब गरेकी थिएँ। त्यहीँ काम गरेको अनुभवकै आधारमा आफ्नै इन्जिनियरिङ कम्पनीको शुरुआत गरेकी हुँ। दरबारमार्गस्थित राइजिङ मलमा हिमालयन जाभाको फ्रेन्चाइज शुरू गरेको ३ वर्षपछि केही समयअघि बालुवाटारमा अर्को कफीसप तथा त्यसपछि एलिमेन्टस् रेस्टुरेन्ट शुरू भयो। शुरूमा विभिन्न मिटिङ इन्टरभ्युहरूका लागि मानिसहरू भेटिरहनुपर्ने भएकोले आफ्नै कफीसप भयो भने भेटघाटका लागि सजिलो हुन्छ भन्ने हिसाबले हिमालयन जाभा खोलेकी थिएँ। पछि बिजनेस पनि राम्रो हुन थाल्यो। फ्यानहरूलाई भेट्नका लागि पनि सजिलो भएको छ।

हाल फिल्ममा भन्दा व्यापारमा बढी सक्रिय भइरहनु भएको छ। फिल्म क्षेत्रलाई माया मार्नुभएको हो ?

हाल फिल्ममा काम नगर्नुको अर्थ मैले यो क्षेत्रलाई माया मारेको वा छोडेको होइन, हाल माझी बस्तीलाई नै समय दिइरहेकी छु भने अन्य केही सामाजिक कार्यहरू पनि सँगै गरिरहेकी छु। माझी बस्ती निर्माण सम्पन्न भइसकेपछि पक्कै पनि फिल्म निर्माण गर्नेछु।

तपाईंका लागि फिल्म र व्यवसायमा कुन महत्वपूर्ण हो ?

मेरा लागि फिल्म सबैभन्दा महत्वपूर्ण छ। किनभने फिल्मकै कारण म हाल यो स्थानमा छु। फिल्म खेलेकै कारण मैले धेरै दर्शकको माया पाएकी छु भने कलाकार भएकै कारण धेरैले चिन्नुहुन्छ। जसले गर्दा व्यवसायमा समेत सहयोग मिलेको छ। कामहरू लिन पनि सजिलो भइरहेको छ। कलाकारको हिसाबले धेरैले माया गर्नुहुन्छ भने व्यवसायमा पनि सबैले विश्वास गर्नुहुन्छ।

व्यवसाय तथा समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ। समय कसरी व्यवस्थापन गरिरहनु भएको छ ?

जति पनि कामहरू गरेकी छु, त्यो सबै एक्लो प्रयासले भने होइन। ती सबै टिम वर्कको कारण सम्भव भएको हो। मलाई साथ दिने कर्मचारीहरूदेखि परिवारसम्म्को सपोर्टका कारण पनि समय व्यवस्थापन भइरहेको छ र म विभिन्न कामहरू गरिरहेकी छु।

के कुराबाट प्रभावित भएर समाजसेवामा लाग्नुभयो ?

कुनै पनि कुराबाट प्रभावित भएर वा समाजसेवा गर्छु भनेर गरिने चिज होइन। यो एकाएक गरिने चिज रहेछ। मेरा कारणले कसैको जिन्दगीमा खुुुसी मिल्छ भने मलाई त्यसैमा आनन्द लाग्छ। त्यस कारण पनि सकेजति सहयोग गरिरहेकी हुन्छु।

व्यावसायिक जीवनबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

व्यावसायिक जीवनबाट म पूर्ण रूपमा सन्तुष्ट छु। हाल आफ्नो व्यावसायिक जीवनलाई पछाडि फर्किएर हेर्दा खुसी लाग्छ। ‘एस आईडीड ईट’ भन्ने फिल हुन्छ।

जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के लाग्छ ?

जिन्दगी, समय र स्वास्थ्य तीन कुराहरूलाई महत्वपूर्ण मान्छु। लाइफ एकचोटि पाउने कुरा हो, त्यस कारण यो प्रिसियस छ। म जुनसुकै बेला जिन्दगीलाई खुसीका साथ बाँच्ने प्रयास गर्छु। त्यस्तै, समय पनि मूल्यवान् कुरा हो। समयलाई चिनेर त्यहीअनुसार काम गरियो भने सफल हुन सकिन्छ। त्यस्तै, स्वास्थ्यविना केही पनि गर्न सकिँदैन। त्यस कारण हिजोआज हेल्थ कन्सियस हुन थालेकी छु।

सफलताको श्रेय कसलाई दिनुहुन्छ ?

सफलताको श्रेय आफ्नो लगनशीलता, परिश्रम र निरन्तरतालाई नै दिन्छु। साथै, सफल बन्नका लागि जस्तो परिस्थितीसँग पनि हार नखाई स्ट्रङ र ह्याप्पी भएर जीवन अघि बढाउनुपर्दो रहेछ।

फिल्म तथा व्यवसायमध्ये कुनमा बढी प्रतिस्पर्धा पाउनुभयो ?

सबै क्षेत्रमा प्रतिस्पर्धा हुन्छ नै, मेरो अनुभवमा यी दुवै क्षेत्रमा सफलता प्राप्त गर्न कडा परिश्रम गर्नुपर्छ र परिश्रम पनि उस्तै–उस्तै हो। तर, आफ्नो प्रोडक्ट राम्रो छ भने प्रतिस्पर्धामा अवश्य पनि सफलता पाइन्छ।

अबको योजना चाहिँ के छ ?

नेसनल क्यान्सर हस्पिटलसँग सहकार्य गर्दै क्यान्सरका बिरामीहरूको उपचारका लागि सहयोग गर्ने हिसाबले भवन निर्माण गर्ने योजना छ। निर्माण हुने भवनको आगामी १९ गते शिल्यान्यास हुनेछ। उक्त हस्पिटलमार्फत आर्थिक अभावले उपचारमा समस्या झेलिरहेका बिरामीहरूलाई विशेष सेवा पु-याउने सोच छ। साथै, माझी बस्ती पूरा भएपछि चाहिँ फ्ल्मि निर्माण गर्ने सोचमा छु।

प्रतिक्रिया दिनुहोस्