घुम्ती शिविरले सेवा प्रवाह सहज



मङ्गलबारे : इलामको फाकफोकथुम गाउँपालिकामा सोमबार सुरु भएको एकीकृत घुम्ती शिविरमा २ सय ९० जनाले नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालयको आयोजना तथा फाकफोकथुम गाउँपालिकाको सहयोगमा आयोजित दुई दिने शिविरमा २ सय ९० जनाले नागरिकता बनाएको जिल्ला प्रशासन कार्यालयका नासु लक्ष्मण पाण्डेले बताए । 

त्यस्तैगरी २ सय ५० जनाले तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । शिविरमा जिल्लास्थित सात वटा कार्यालयले सेवा प्रवाह गरेका थिए । शिविरमा कृषि ज्ञान केन्द्र इलामबाट माटोको नमुना परीक्षण गरिएको थियो । फाकफोकथुम–१, ३ र ६ का ८२ जना कृषकको माटोको नमुना परीक्षण गरिएको छ । 

नेपाल टेलिकमबाट ४१ जनालाई सहुलियतमा मोबाइलको सिमकार्ड वितरण गरिएको छ । आयुर्वेद औषधालयले २ सय बिरामीलाई आयुर्वेदिक औषधि वितरण गरेको छ । करदाता कार्यालय, डिभिजन वन कार्यालयले सर्वसाधारणलाई परामर्श सेवा उपलब्ध गराएका थिए । 

गाउँपालिका भएपछि पहिलोपटक घुम्ती शिविर आयोजना भएकाले सेवाग्राहीको चाप बढेको फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले बताए । उनले गाउँपालिकाले सबै सेवा एकै ठाउँमा दिएर गाउँवासीका लागि ठूलो राहत पुर्याएको विचार राख्दै आगामी दिनमा पनि स्थानीय स्तरमै जिल्लाबाट प्राप्त हुने सेवा प्रवाह गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्