घुसबिना कामै हुन्न विराटनगर मालपोतमा



मालपोत कार्यालय विराटनगरमा लागेको सेवाग्राहीको भीड ।

विराटनगर : सेवाग्राहीको अत्यधिक चाप हुने मालपोत कार्यालय विराटनगरको स्थिति अन्य कार्यालयको तुलनामा भिन्न छ । त्यहाँ पुग्ने जो कोही सेवाग्राहीले कर्मचारीलाई ‘भेटी’ बुझाएपछि मात्रै काम बन्छ । घुस नदिनेको कामै बन्दैन ।

मोरङको ग्रामथान गाउँपालिका १ लखन्तरीका भैरव माझी दृष्टिबन्धक फुकाउन मालपोत कार्यालय विराटनगर पुगे । उनको काम गर्न कर्मचारीले आलटाल गरे । माझीले लामै सास्ती बेहोर्नुपर्यो । झन् कम्प्युटर शाखाबाट त कामको मेलै सरेन ।

 

दलालबिना नै काम गर्न खोजेका उनले कम्प्युटरमा इन्ट्री गराउन तीन घण्टा पालो पर्खंदा पनि पाएनन् । ‘म आफ्नो काम गराउन तीन घण्टादेखि लाइनमा बसिरहेको छु । मेरो कामै गरिदिँदैनन्,’ मालपोतमै भेटिएका उनले भने, ‘तर अरुको चैं दलाल आएर फटाफट काम गरेर जान्छन् । मेरो चैं किन ढिलो गरिदिएको भनेर सोध्यो भने उल्टै हप्काउँछन् ।’ 

उनी लाइनमा बसिरहँदा सेवाग्राही र दलालको ओहोरदोहोर निकै बाक्लो थियो । फाइल लिएर आउने दलाललाई पनि कम्युटरमा इन्ट्री गराउन सहज थिएन । फाँटका कर्मचारीलाई पाँच सय रुपैयाँ बुझाएपछि मात्रै उनीहरुको पनि काम बनिरहेको माझीले झलझली देखे ।  पैसा नबुझाउँदा कर्मचारीले दलालकै काम पनि अल्झाइदिन्थे । 

मालपोतको कम्प्युटर शाखामा तीन कर्मचारी छन् । कम्प्युटर प्रणालीमा दर्ता गराउन पैसा लाग्दैन तर कार्यालयका कर्मचारी पैसाबिना कसैको काम गर्दैनन् । कमिसन नदिने सेवाग्राहीको काम दुई दिनसम्म लम्बिन्छ ।

 

माझीले पनि कम्युटर शाखामा ‘भेटी’ चढाएपछि भने कामले गति लियो । उनको काम तत्काल बन्यो । माझी आफैं लेखापढी व्यवसायी हुन् । ‘पैसा दिनेहरुको काम तत्काल बन्यो,’ उनले भने, ‘मैले तीन घण्टामा पनि गराउन सकिनँ ।’ 

कम्प्युटर शाखामा मात्र नभई मालपोतमा दर्ता चलानीबाहेकका शाखामा घुस नबुझाएसम्म काम बन्दैन । जहदा गाउँपालिका ६ का रामनारायण मण्डलले जग्गा हालसावी गर्दा पनि कर्मचारीलाई अतिरिक्त शुल्क बुझाउनु पर्यो । उनले १२ हजार करबाहेक तीन हजार रुपैयाँ लेखनदासमार्फत कर्मचारीलाई बुझाए ।

मालपोत कार्यालयमा कर्मचारीले एक सयदेखि दुई हजार रुपैयाँसम्म कसिमन लिने गरेका छन् । कर्मचारीको घुसखाेरीका कारण सेवाग्राहीले भने निक्कै सास्ती पाउने गरेका छन् । एक सेवाग्राही भन्दै थिए, ‘मालपोत कार्यालयमा कमिसन नदिई काम गर्न गाह्रो हुँदो रहेछ । घुस नदिए काम नै बन्दैन ।’ 

‘फाँटमा पुर्जा बनाएको एक सयदेखि पाँच सयसम्म लिन्छन्,’ एक लेखापढी व्यवसायीले भने, ‘पैसा नदिए हाम्रो पनि काम बन्दैन ।’ उनले कर्मचारीले फाँटैपिच्छे पैसा लिँदा सेवाग्राही हैरान बन्ने गरेको बताए । उनले अनलाइनका कर्मचारीले पाँच सयदेखि दुई हजार रुपैयाँसम्म लिने गरेको बताए । 

मालपोत कार्यालयमा पुग्दा घुसको लेनदेन भएको राम्ररी देख्न र भोग्न पाइन्छ । खुलेआम लेनदेन हुँदा पनि सम्बन्धित निकायको नजर मालपोतमा भने पर्न सकेको छैन । 

नियमअनुसार कार्यालयभित्र बिचौलियालाई प्रवेश निषेध छ । तर कार्यालयमा सेवाग्राहीले भन्दा छिटो बिचौलियाले पालो पाउँछन् । विराटनगर मालपोत कार्यालयमा बिचौलियालाई जता जान पनि छुट छ ।

 

लेखापढी कानुन व्यवसायी संघ विराटनगरका अध्यक्ष उमेश श्रेष्ठ भने लेखापढी गर्नेलाई सबैतिर छुट नभएको बताउँछन् । कार्यालयले सबैतिर प्रवेशमा रोक लगाएको उनले बताए । श्रेष्ठका अनुसार मालपोतमा दुई सय ५० लेखापढी कानुन व्यवसायीहरु छन् । 

लेखापढी गर्नेहरुले नै कर्मचारीसम्मलाई सेटिङ मिलाएर सेवाग्राहीको काम गराइदिन्छन् । कुनै कुरामा लेखापढी गरिदिनु प¥यो भने आफैंबाट पैसा लिन सुरु गर्ने लेखापढी व्यवसायीमार्फतै कर्मचारीसम्मलाई घुस पुग्ने गरेको हो ।

 

‘लेखापढी व्यवसायीमार्फत नजाने र घस नबुझाउनेको यहाँ काम नै छैन,’ विराटनगरका सुदीप लम्सालले भने, ‘यति साह्रै खुलेआम घुस र कमिसन लिएर सरकारी कार्यालयको बदनाम गर्ने काम भइरहेको छ ।’ 

 

भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरका मालपोत अधिकृत देवीप्रसाद भट्टराई काम गर्दा सेवाग्राहीबाट कर्मचारीले घुस नलिएको दाबी गर्छन । तर उनले भनेविपरीत सेवाग्राहीले भने कमिसन नखुवाई काम बन्दैन् । ‘सेवा शुल्कबाहेक अतिरिक्त शुल्क लिन पाइन्न,’ उनी भन्छन्, ‘पैसा लिएको प्रमाणसहित कोही आए कर्मचारीलाई कारबाही गर्छौं ।’  सेवाग्राहीको भीड हुने कार्यालयमा सिसी क्यामेरा जडान गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्