परेश रावलका छोरा पनि फिल्ममा



एजेन्सी : सन् २०१९ मा विभिन्न स्टारका छोराछोरी बलिउडमा डेब्यु गर्दैछन् । यसै क्रममा परेश रावलका छोरा आदित्य रावलको नाम पनि आउँछ । आदित्य अनुराग कश्यपको को–प्रोडक्सनमा बन्न लागेको फिल्म ‘बम्फाड’ बाट बलिउडमा कदम राख्ने तयारीमा छन् । यस फिल्ममा उनको अपोजिटमा शालिनी पाण्डे देखिनेछिन् ।

 

अनुरागले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा आदित्यलाई फिल्ममा कास्ट गर्नुअघि एक महिनाको मात्रै वर्कसप राखिएको जानकारी दिए । यस्तै मुख्य नायिकाको रुपमा शालिनीको यो पहिलो हिन्दी फिल्म हुनेछ ।

 

अनुरागले फिल्मको अचम्मको टाइटलबारे बताउँदै यसले फिल्मका पात्रबारे जानकारी दिएको बताए । उनले भने, ‘यो नर्थ इन्डियामा प्रयोग गरिने एक शब्द हो जसको अर्थ विस्फोट गर्ने तत्व हो ।’ फिल्मको निर्देशन रंजन चन्देलले गरिरहेका छन् । यस्तै, प्रोडक्सनमा अजय राय, प्रदीप कुमार र एलनको नाम पनि समावेश छ ।

 

आदित्यले आफूलाई बुवासँग तुलना नगर्न भनेका छन् । सन् २०१६ मा दिएको एक अन्तर्वार्तामा आदित्य रावलले आफूलाई पितासँग तुलना नगरिदिन आग्रह गरेका थिए । उनले भनेका थिए, ‘मेरा आमा–बुवा उत्कृष्ट अभिनेता हुनुहुन्छ तर तपाईंहरुले ममा उहाँहरुको अभिनय कला खोज्नुहुन्छ भने पाउनु हुन्न । म जे गर्छु, त्यसमा पूरा रमाएर गर्ने कोसिस गर्छु । त्योभन्दा बढी मेरो हातमा अरु केही छैन ।’

प्रतिक्रिया दिनुहोस्